२०८१ मङ्सिर १९ गते बुधवार

किन घट्छन्,समाजमा बेलटाकुरामा जस्ता अपत्यारिला घटना ?

के भन्छन् साइक्याट्रिक डाक्टर ?

तुलसीपुर , असोज ८ । बेलटाकुरा गाउँ बबई किनारको टाकुरामा रहेको एक शान्त र सुन्दर गाउँ हो ।
तुलसीपुरको बीरेन्द्र चोकदेखि यो गाउँ पुग्न कटाँहा हुँदै जाँदा दक्षिण ११ किलोमिटर छ भने तुलसीपुर– अमेलिया सडक खण्ड हुँदै गए उरहरी चोकवाट पश्चिम साढे २ किलोमिटरको दुरीमा पर्छ ।

बेलटाकुराको उकालो चढे लगतै गाउँले मिलेर बनाएको बल पिपलको चौतारीबाट नियाल्दा ती हरिया फाँटहरु यखिखेर निकै सुन्दर देखिन्छन् । स्थानीय साँझ बिहान यो चौतारीमा भेला हुन्छन् । सुख्खा मौसममा यो चौतारीमा चल्ने हावाले मनमा सितलता प्रदान गर्छ ।


बबई फाँट र आसपासका समथर खेतका गनारीहरुमा यो सिजनमा धान पसाउने तरखर गर्दै छ । अधिकाँस यहाँका स्थानीय कृषि कर्म गर्छन ।

तुलसीपुर उपमहानगरपालिका – ११ को यो बेलटाकुरा गाउँको आफ्नै पहिचान छ । गाउँको माथिल्लो भागमा अधिकाँस ठकुरी समुदायका मानिसहरुको बसोबास छ ।

हरेक साल यो गाउँले जात्रा निकाल्छ । झन्डै ६ दशकदेखि यही गाउँले लाखे नाचको संस्कृति जगेर्ना हुँदै आएको छ । जसको नेतृत्व ठकुरी समुदायले गर्छ । बेलटाकुराको लाखे नाच जिल्लामै चिरपरिचित छ । कृष्ण जन्माअष्टमीमा यो गाउँको खल्यानमा ठूलो मेला लाग्छ ।

यहाँको समाज मिलने बसको छ भन्ने यो एउटा उदाहरणपनि हो । यति मिलेर बसेको छ कि, तत्कालिन नेकपा माओबादीले थालेको सशस्त्र द्धन्दकालमा समेत यहाँ प्रबेश गर्न हच्किन्थे । जोर जवरजस्ति बिरुद्ध यहाँका स्थानीय मिलेर प्रतिकार गरि हाल्थे ।


पछिल्लो पुस्ता शिक्षित बन्दै गएको छ । यहाँका युवा उत्तिकै खेल प्रेमीपनि छन् । फूटबल, भलिबल र क्रिकेटहरुमा बेलटाकुराको नाम अग्रपंक्तिमै आउँछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा जागिर खने युवापनि छन् ।

सोही सुन्दर र शान्त गाउँ शनिबार दिउँसो मध्यान्ह पछि एकाएक अशान्त बन्यो । गाउँभर खैला बैला मच्चियो ।
त्यस्तो कारण एक एक ब्यक्तिको उदण्डता थियो । ३९ बर्षीय टेकबहादुर हमाल । जो घरबाट खुकुरीसहित निस्कएका थिए । उनी एक हातले बाख्रो डो¥याइ रहेका थिए भने अर्कौ हातमा खुकुरी थियो । पाखोमा ४५ बर्षीय बीरबहादुर हमालसंग भेट भयो । बीरबहादुर नाताले दाजु थिए । खुकुरी किन बोकेका छौं ? भनेर बीरबहादुरले भाइ टेकबहादुरलाई सोधे । एकाएक टेकबहादुरले बीरबहादुरको घाँटी ताकेर प्रहार गरे । बीरबहादुरले हातले रोक्ने खोजे । हप्केला काटियो । बीरबहादुर ‘बौलाइस कि’ भन्दै भागे । टेकबहादुरले उनलाई लखेट्दै लगे । दौडिदै गुहार मागे । भाग्यले जोगिए ।

जतिखेर बेलटाकुरा वकालो मुन्तिर खेतमा बीरबहादुरकी ६५ बर्षीया आमा कमला हमाल घाँस काटी रहेकी थिइन । हातमा खुकुरी बोकेका टेकबहादुरले कमलालाई भेटेपछि एकाएक टाउकोमा खुकुरी प्रहार गरे । त्यो सबै केही टाढा बाट नियाली रहेका बीरबहादुरले गुहार मागे । कमला अचेत भइ लडेपछि टेकबहादुर खुकुरी उज्याउँदै केही पूर्व तर्फ लागे ।
बाटोमा स्थानीय ४३ बर्षीया रिता लामिछानेको घर आयो । रिताका छोराहरु घरमा थिएनन् । उनका श्रीमानपनि घाँस काट्न खेततिर गएका थिए । शिक्षक उनी बिदाको दिनमा रितालाई काममा सघाउँदै थिए ।

टेकबहादुर र रिताको घरपनि पुग नपुग एक सय मिटर जतिको दुरीमा छ । उनीहरु असल छिमेकी । अघिपछि रिताले भन्दा जहिलै टेकबहादुर हच्किन्नथे । दिदी भनेर सम्मान गर्थे ।

त्यो दिनपनि रिताले टेकबहादुरलाई भाइ यो खुकुरी बोकेर कहाँ हिडेका छौं ? भनेर सोधिन । टेकबहादुरले एकाएक रितामाथि खुकुरीले अन्धाधुन्द आक्रमण गरे । खुकुरी प्रहारबाट रिताको घाँटी थोरैले चुँडिन बाँकी थियो ।
तत्कालै रिताको प्राण पखेरु उड्यो । टेकबहादुर खुकुरी बोकेरै हिडिरहे । उनलाई देख्नेहरु भागे ।

गाउँमा त्यो खबर हावा संगै फैलियो । कसैले प्रहरीलाई खबर ग¥यो । अस्थायी प्रहरी पोष्ट जस्पुरबाट प्रहरी तत्काल पुगे । घाइतेलाई कमला र उनका छोरा बीरबहादुरलाई अस्पताल पठाए । रिताको घटनास्थलमै मृत्यु भइ सकेको थियो । प्रहरीले टेकबहादुरलाई तत्कालै नियन्त्रणमा लियो ।

हल्ला खल्ला सुनेर केही पर खेतमा घाँस काटी रहेका उनका श्रीमान घर आए । श्रीमतिका अवस्था देखेर उनी बेहोस भइ जमिनमा लडे । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलका अनुसार घटना लगतै पक्राउ परेका ब्यक्तिले ‘देउता चढेको’ हुँदा त्यसो गरेको हुँ भनेर बयान गरेको थिए ।

घाइते कमलाको हाल बाँकेमा उपचार जारी छ । बीरबहादुर डिस्चार्ज भइ सकेका छन् । घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जस्लाई भेट्यो उसैमाथि अन्धाधुन्द खुकुरी प्रहार गरेको प्रत्यक्षदर्सीले बताएका छन् ।

स्थानीय र प्रहरीका अनुसार उनी मदिराका अम्मली थिए । त्यही भएर टेकबहादुर र उनकी श्रीमतिको ठाकठुक परि रहन्थ्यो । श्रीमति बालबालिका तुलसीपुर बजारमा बस्छन् ।
हप्तामा एक दिन उनीहरु गाउँ जान्थे । तर, यस पटक श्रीमान संग ठाकठुक परेकै कारण गाउँ नगएको श्रीमतिलाई बताएकी छन् ।

श्रीमतीलाई सताउने हुँदा उनीहरु बजार बस्न थालेको भन्ने कुरा आएको प्रहरी अधिकारीहरु बताउँछन् । टेकबहादुरले घरमै सानो तिनो कुखुरा फर्मपनि चलाएका थिए । ‘खुकुरी प्रहार गर्ने ब्यक्ति मदिराका अम्मली हुन भन्ने कुरा आएको छ,’ डिएपी पोखरेलले भने ‘त्यही कारण श्रीमतिसंग खटपट भइ रहन्थ्यो भन्ने कुरा सुन्नमा आएको छ ।’

परिवार जन र स्थानीयका अनुसार टेकबहादुर डिप्रेसनका बिरामी थिए । बिगत केही बर्ष यता औषधी सेवन गर्दै आएका थिए । टेकबहादुरकी श्रीमतिका अनुसार सासु आमाले छोरालाई औषधी किन्न भनेर पैंशापनि दिएकी थिइन । तर, उनले औषधी किन्न छोडेर धामी कहाँ हात हेराउन गएको कुरा खुलेको छ ।
टेकबहादुरले दुई छाक खानापनि नखाएको कुरा परिवार जन गर्छन ।

टेकबहादुर करिब साढे दुई महिना अगाडि मात्रै छिमेकी देश भारतबाट फर्किएका थिए । उनी रोजगारीको खोजीमा त्यहाँ गएका थिए ।
भारतबाट फर्किए यता उनी अधिकाँस सयम घरमै बसिरहन्थे । गाउँ घरमा बिरलै निस्कन्थे । गाउँ घरमा यस भन्दा अघि कहिलै कुनै खालको झैं झगडा वा हिंसा नगरेको स्थानीय बताउँछन् । एकान्त रुचाउने र शान्त देखिने टेकबहादुरले नियमित औषधी खान ध्यान नदिदा एकाएक मानसिक समस्या उत्पन्न भइ घटना घटाएको हुन सक्ने स्थानीय बताउँछन् ।

टेकबहादुरले ज–जस्लाई खुकुरी प्रहार गरे उनीहरु कसैपनि पनि उनको कुनै प्रकारको बाद बिबाद वा मनमुटाव थिएन । त्यसो भए किन त्यस्तो बर्बता प्रदर्शन गरे ?

राप्ती प्रोदेशिक अस्पताल तुलसीपुरमा कार्यरत साइक्याट्रिक डा. एलिजा कार्की ब्यक्तिहरुमा एकाएक आउने मानसिक परिवर्तन बारे तीन चार बुँदामा केन्द्रित भएर कुरा गरिन ।
एकाएक आक्रमणमा उत्रने ब्यक्तिले डिप्रेसनको भन्दापनि झनै कडा डोजको मानसिक रोगको औषधी सेवन गर्दापनि त्यस्तो गर्ने गर्छन ।

डिपे्रसेनका बिरामीले दोस्रो ब्यक्तिलाई भन्दा आँफैलाई बढी हानी पु¥याउने खतरा हुने उनले बताइन । यस्ता डिप्रेसनका बिरामी आँफै सिद्धिने वा आत्महत्याको बाटो रोज्छन् । तर, टेकबहादुरले आँफुलाई हैन अरुलाई हानी पु¥याए ।


डा. कार्कीका अनुसार कडा खालको मानसिक रोगी (साइकोसिश) भएकाहरुले भ्रम र सत्य छुट्याउन नसक्दा पनि यस्ता घटना घटाउने सक्ने अवस्था रहन्छ । त्यस्ता ब्यक्ति भ्रममै बाँची रहेको हुने हुँदा आँफु भन्दा अरुलाई बढी हानी पु¥याउन खतरा रहने उनले बताइन ।


डा. कार्कीका अनुसार कहिले काँही दिमाकको नशाहरु फुट्दाखेरी पनि मानिसमा बेसुर वाला अवस्था उत्पन्न हुन सक्छ । त्यस्तो अवस्थाको मानिसले पनि आँफुले के गरि रहेको छु र कस्तो गरिरहेको छु ? भन्ने थाहाँ नपाउने हुँदा समस्या यस्ता समस्या सृजना गर्ने खतरा रहन्छ ।

त्यस्ता ब्यक्तिहरुले आक्रोस रोक्न नसक्ने हुँदा जे पनि गर्ने खतरा हुन सक्ने डा. कार्कीले बताइन ।
त्यस्तै कुनैपनि नशालु पदार्थ सेवन कर्ताले त्यसको प्रभावका कारणपनि यस्ता हर्तकहरु गर्न सक्ने उनले औंल्याइन ।
लगातार मदिरा सेवन गर्ने ब्यक्तिले एकाएक छोड्दा बेसुरमा जान सक्ने र राम्रो नराम्रो छुट्याउन नसक्ने हुँदापनि यस्ता घटना घटाउन सक्ने उनले बताइन ।


त्यस्तै उनले कुनैपनि ब्यक्ति डिप्रेसनमा भए नभएको कुरा त्यसै भन्न नसकिने र स्वास्थ्य चेकजाँच पछि मात्रै भन्न सकिने हुँदा शनिबार बेलटाकुरामा भएको बर्बताको घटना बारे सम्बन्धित ब्यक्तिको स्वास्थ्य चेक जाँच गरेपछि मात्रै उनको मानसिक अवस्था भन्न सकिने बताइन ।

डिप्रेसनमा पुगेका ब्यक्तिले आँफैलाई कमजोर ठान्ने, आफ्नो जीवन बेकार ठान्ने हुँदा उनीहरुले अरुलाई भन्दा बढी आँपैmलाई हामी पु¥याउने संभावना बढी हुने हुँदा बेलटाकुराको कुरा अलि फरक छ कि, भन्ने आँफुलाई लागेको उनले बताइन ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *