२०८३ कार्तिक २६ गते बुधवार

‘पैतृक सम्पत्तीमा बहिरालाई विभेद’

तुलसीपुर,असोज ६ । शान्तिनगरकी –४ की चेतना डाँगी बोल्न सक्दिनन् । जन्मजात कान सुन्न नसक्ने डाँगी बहिरा भएकै कारण घर परिवारले बेघर जस्तै बनाएको छ ।

‘परिवारका टाठा बाठाले सम्पत्ती सबै लैजानु भयो,हामी संग केही छैन,सान्केतिक भाषामा चेतनाले भनिन्,–‘पैतृक सम्पत्तीमा सबै छोरा छोरीको बराबर हक लाग्छ तर हामीलाई लागेन ।’ उनले बहिरा भएपछि माया,ममता र सम्पतिमा समेत कन्जुस्याई हुने गरेको गुनासो गरिन ।

त्यस्तै रोल्पा रुण्टीगढी – ९ हुमबहादुर सार्कीको कथा पनि त्यस्तै छ । उनी पनि जन्मजातै बहिरा व्यक्ती हुन । उनले पैतृक सम्पत्ती प्रसस्त भएपनि अन्य दाजु भाइले सम्पत्ती पाउँदा उनले पाएनन् । घर परिवारमा बहिरालाई शारिरिक श्रम बढी गर्नु पर्ने,सबैले भनेको मान्नै पर्ने जस्ता व्यबहारले आफूले घर छोड्न बाध्य भएको उनको गुनासो छ ।

बहिरा व्यक्तीहरुले राम्रो लगाउन,खान नहुने जस्ता व्यबहार धेरै घर परिवारमा छ,उनले भने,–‘त्यत्ती मात्र होइन बहिरा भएकै कारण हामीलाई काम गर्ने ठाउँमा समेत पारिश्रमिक थोरै दिन्छन् ।’

शान्तिनगर–२ का भरत वलि आफू बोल्न नसक्ने हुदाँ घर परिवार र समाजबाट अपहेलित भैरहेको बताउँछन । लाटो बच्चा जन्माउने भन्दै समाज र आफन्तहरुको विभिन्न असभ्य व्यबहार सहनुपरेको भरतकी आमा रमा वलिले गुनासो गरिन ।

पढ्नको लागि विद्यालयमा पठाउँदा समेत विद्यालयले इन्कार गरेको घटनाले थप पीडा भएको उनले बताइन । बहिरा व्यक्तीहरु घर–परिवार र समाजबाट शोषण दमनमा पर्ने गरेका छन । राप्ती गाउँपालिका – ३ का नरेन्द्र रसाइली पनि बहिरा भएको कारण अहिलेसम्म रोजगार पाउन सकेका छैनन् ।

केही वर्ष पहिले नै १२ कक्षा उत्तीर्ण गरिसकेका रसाइली जन्मजात नै कान सुन्न र बोल्न सक्दैनन् । त्यसैले उनलाई हरेक क्षेत्रमा दोभाषेको आवश्यकता पर्छ । सुन्न र बोल्न नसकेकै कारण बेरोजगार भएर बस्नुपरेको उनको गुनासो छ ।

बहिरा व्यक्तीलाई विद्यालयमा होस् या घर परिवारमा माया दिने सट्टा घरबाट पन्छाउने,अन्यत्र ठाउँमा पठाउन राजी हुने समस्या धेरै देखिएको बहिरा शिक्षक विजय वलिले बताए ।

बहिरा छोराछोरीलाई घरबाट पन्छाउन मुख्य भूमिका परिवार नै रहेको उनले बताए । ‘बहिराहरुलाई माया गरी उनीहरुको शिक्षा,स्वास्थ्यमा ख्याल परिवारबाट नै हुनु पर्ने ठाउँमा दमन, अपमान लान्छना लगाउने काम हुन्छ,उनले भने,‘–प्रेम बिना ती बहिरा कुलतमा लागे, कु–कर्ममा लागे भने त्यसको जिम्मा कस्ले लिन्छ ।’

सरकारले अपांगता भएका सबैलाई एउटै भाँडोमा राखेर काम गर्दा टाठा बाठाहरुले मात्र अवसर पाउँने गरेको दोभासे शिक्षिका दोभासे स्मृति योगीले बताइन ।

उनले दोभाषेको अभावले बहिराहरु आफ्नो समस्या खुलेर भन्न नसक्ने र विविध खालका हिंसा सहनुपर्ने बाध्यता भएको बताइन ।

संसार जहाँ बहिरा नागरिकले जहिले पनि संकेत गर्न सक्छन् भन्ने मूल नाराका साथ छैठौं अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा राप्ती बहिरा सघंले तुलसीपुरमा आयोजना गरेको बहिरा र सांकेतिक भाषा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपांगताको हक अधिकारको लागि राज्यले प्रभावकारी भूमिका खेल्ने विस्वास दिलाइन ।

राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माको अध्यक्षतमा भएको कार्यक्रममा अपांग समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुमकान्त कँडेल,राप्ती बहिरा सघंका सहसचिव ज्ञानु खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सघंका उपाध्यक्ष रुपा विश्वकर्मा स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव डम्बर वलिले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *