पाल्पा,असोज १ । पाल्पामा साथीको कुटाइबाट एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुटपिटबाट जिल्लाको तिनाउ गाउँपालिका २ निवासी २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको हो।
कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन्।
उनका अनुसार सोमबार राति साढे १० बजे तिनाउ–२ कै घोडेबासमा स्थानीय भेला जम्मा भई भइरहेको तीजको नाचगानमा सुनिल र उनका साथीबीच सामान्य झगडा भएको थियो। सोही विषयमा त्यही मध्यराति साढे १२ बजेतिर पुनः झैझगडा, कुटपिट हुँदा सुनिल गम्भीर घाइते भएका थिए।
उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ९बुटवल० लगिए पनि आज बिहान पौने २ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको प्रहरी टोलीले कुटपिटमा संलग्न आशंका गरिएका ४ जनालाई पक्राउ गरेको हो।