२०७७ कार्तिक ४ गते मङ्गलवार

दंगीशरणबासी कृषि क्षेत्रमा आत्मनिर्भर


दिप्तीशिखा चौधरी
दंगीशरण, बैशाख १७ ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणबासीहरु अबका दिनमा कृषि क्षेत्रबाट आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । आफ्नै खेतबारीमा श्रम गरेर प्रशस्त रुपमा आयआर्जन गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् । अबका दिनमा कृषि क्षेत्रलाई कसरी अगाडि लैजाने बिषयमा बृहतरुपमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कृषिका लागि बजेट छुट्याएको भएपनि सही स्थानमा लगानी गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दै उनले प्रक्रिया र सस्ंथागत ढंगले काम सम्पन्न गर्ने सोचाईमा रहेको बताए । चाँदनी कृषक समूह दंगीशरण गाउँपालिका–१ बाँकीको आयोजना तथा सहकर्मी समाज सुर्खेतको सहकार्यमा वडा नम्बर १ मा भएको समूहहरुको सिकाइ आदानप्रदान अन्तरक्रियाका लागि सामूहिक भेला कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने ‘हरेक क्षेत्रको विकास निर्माणका कामहरु अगाडि बढिरहेका छन् तर कृषि क्षेत्रलाई अझै फस्टाउन सकिएको छैन यस कुरामा म गम्भीर छु, अबका दिनमा तपाईले जायज माग राखेर विकासतर्फ लाग्नुस् म साथ दिन तयार छु ।’ उक्त अवसरमा सहकर्मी समाज जिल्ला संयोजक पुनाराम पन्थीले कृषक समूह गठन गर घरदेखि समाज सुधारमा लागेको भन्दै खुसी ब्यक्त गरे ।

क्षमता विकासका लागि आफूले प्रश्न छोडेको र उत्तर दिने काम तपाईको हो भन्दै समृद्धिको चरणमा आईसकेको बताए । पद्धति लिएर आएको समाज भएकाले जागरण सिर्जना गर्ने बताए । यस्तै वडा अध्यक्ष श्रीप्रसाद चौधरीले कृषक समूहहरुका लागि वडाबाट गर्न सक्ने सहयोग जति पनि गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गरे ।

उक्त अवसरमा दंगीशरण गाउँपालिका नेकपाका अध्यक्ष भरत अधिकारी, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य यज्ञ बहादुर विष्ट, गाउँपालिकाका कार्यपालिका सदस्य हरिप्रसाद पोखे्रललगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागी भएका कृषकहरु सुन्दर नगरी कृषक समूहका शेखर चौधरी, देउराली समूहकी सिता डाँगी, शान्ति समूहका शेरबहादुर चौधरी, लालीगुराँस समूहकी डिला विष्ट, चाहनी कृषक समूहका हरिप्रसाद विक, हरियाली समूहका सविता चौधरी, मिलिजुली कृषक समूहका राजकुमारी चौधरी, समाजसेवा समूहकी गीता केसीलगायतले कृषक समूह गठनपछि आफूमा बोल्ने, लेख्ने बानीको विकास भएको, बचत गर्ने बानीको विकास भएको, तरकारी खेतीदेखि गाउँ, टोल सफा राख्ने, विद्यार्थीहरुको पठनपाठनलाई नियमित बनाउने कार्यसमेत सञ्चालन गरेको बताए । कार्यक्रममा सत्यकुमारी चौधरीले प्रथम सामूहिक भेलाको कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

चाँदनी कृषक समूहका अध्यक्ष कर्णबहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कृष्णी पुन र कविता भण्डारीको स्वागत गीतबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुमन चौधरीले गरेका थिए । कार्यक्रममा विभिन्न समूहले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *