तुलसीपुर,भदौ २९ । तुलसीपुर उपमहानगरपालिकाले बाल दिवस मनाएको छ ।
उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा शुक्रबार ‘‘अभिभावक शिक्षा’’ विषयक अन्तरक्रिया कार्यक्रम गरी ५९औं बाल दिवस मनाएको हो ।
‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थलानी’ भन्ने नाराका साथ देशभर ५९ औं बाल दिवस मनाइएको छ ।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमित रूपमा मनाउन थालेको पाइन्छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो । उक्त कार्यक्रममा सहभागी बालबालिका तथा अभिभावकले बाल दिवसको अवसरमा मात्र नभइ अन्य समयमा पनि यस्ता खालका कार्यक्रम गरेर शिक्षा देखि बञ्चित बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनु पर्ने बताएका छन् ।
बाल दिवस सिमीत कोठाभित्र मात्र नभई जनचेतना मुलक कार्यक्रम गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा सहभागी बालबालिकाले आफूहरुमा अभिभावकले लगानी लगाए पनि भविष्यमा बाबुआमाको लगानी उठाउन देश छोड्ने बाध्यता रहेको गुनासो गरेका थिए । सरकारले भविष्यमा नेपालमै केही गर्ने वातावरणको सिजृना गर्नुपर्नेमा जोड दिएका थिए ।
बाल दिवसको नारा जति आर्कषक रहेपनि त्यति नै चुनौतिपूर्ण पनि रहेको अभिभावकहरुले बताएका छन् । बालबालिकाको भविष्य सुनिश्चित गर्न आफुहरुले धेरैै लगानी लगाएर पढाएपनि देशको विग्रदो राजनितिक परिवेश र खस्कदो आर्थिक अवस्थाका कारण लगानीले सार्थकता पाउन नसकेको गुनासो गरे ।
कार्यक्रममा बाल विज्ञ नवराज लामिछाने, महिला अधिकारकर्मी सुश्मा गिरी, विभिन्न राजनितीक दलका प्रतिनिधि, तुलसीपुर उपमहानगरपालिका मातहतका विद्यालयका बालबालिका, अभिभावक, शिक्षक–शिक्षिका, प्रहरी, पत्रकार लगाएतको सभागिता रहेको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा देशराज दाहालले प्रशिक्षण दिएका थिए । महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण ललिता कंडेलले गरेकी थिइन् ।