तुलसीपुर,भदौ २९ । चाडपर्वलाई मध्येनजर गर्दै तुलसीपुरमा बजार अनुगमनलाई तिब्रता दिइएको छ ।
नजिकिँदै गरेका तिज,दशैँ–तिहारलगायतका चाडपर्वलाई लक्षित गरी बजारमा म्याद गुज्रिएका सामानहरू बिक्री वितरण हुने अवस्थालाई ध्यान दिँदै तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा तुलसीपुरका किराना तथा खाद्यन्न पसलहरु अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा तुलसीपुर बजारमा म्याद नाघेका वस्तु फेला परेका छन् भने अधिकांश पसलमा मूल्य सुचि नै नराखिएको फेला पारेको तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन ।
उनका अनुसार बजार सुधारका लागि उपमहानगरपालिकाले सातामा एकदिन नियमित अनुगमन गरिरहेको छ । तर बजारमा हरेक पटक समस्या देखिने गरेको छ । चाडपर्वको समयमा बजारमा हुने कालोबजारी रोक्न पनि अनुगमनलाई तिब्र बनाउने योजनामा रहेको प्रमुख शर्माले बताइन ।
अनुगमनका क्रममा म्याद नाघेका वस्तु, लेबल नभएका चिया मसला,तरकारी मसला,क्रिम,पाउडर,लोसन लगाएतका सामाग्रीहरु जफत गरि नष्ट गर्नुका साथै व्यवसायीहरुलाई सचेत बनाइएकोे उनले बताइन ।
चाडपर्वको समयमा अन्य समयभन्दा बढी अखाद्यवस्तु बिक्री वितरण हुने भएकोले अनुगमन अन्य समयभन्दा बढी हुने गरेको तुलसीपुर उद्योग वाणिज्य सघंका कार्यालय प्रमुख पारेश्वर भट्राईले जानकारी दिए ।
अनुगमनका क्रममा पसलहरुमा मुल्य सुची राख्न, पसलको नामसहितको साइनबोर्ड राख्न, उपमहानगरपालिकामा अनिवार्य पसल दर्ता गर्ने उपभोक्ताले बुझ्ने गरी मुल्य सुची राख्न र सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ ।
उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख उज्जल रायमाझी, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, प्रहरी र पत्रकारको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।