तुलसीपुर,भदौ २५ । दाङका प्रमुख जिल्ला अधिकारी सामबन्धु सुवेदी आउने भएका छन् ।
गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ । सरुवामा चार जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि हेरफेर भएका छन् ।
सहसचिव गणेश अर्याललाई रुपन्देही, रामबन्धु सुवेदीलाई दाङ, शिवराम गेलाललाई महोत्तरी तथा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सिडिओमा खटाइएको छ ।
त्यस्तै, अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ।
सहसचिव जयनारायण आचार्यलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
सिडिओका रूपमा कार्यरत सहसचिवहरू भरतमणि पाण्डे, दीपककुमार पहाडी र खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार