कैलाली,भदौ १९ । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका ३ कि अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
सोमबार राति करिब ११ बजेतिर विद्युतीय धरापमा परेर गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए ।
जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले खेतमा विद्युतीय धराप राखेका चौधरीलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार