तुलसीपुर, भदौ १७ । दाङको तुलसीपुर तर्फ आउँदै गरेको बस सल्यानमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि नौं जना घाइते भएका छन् । ती मध्य तीन जना डिस्चार्ज भइ सकेको र अन्य छ जनाको सल्यानमै उपचार जारी रहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।
ती मध्यपनि दुई जनाको अवस्था गम्भीर रहेको श्रेष्ठले जानकारी दिए । दुर्घटनाका घाइते मध्य जिल्लाको बागचौर नगरपालिका–६ चिसापानीका २५ वर्षीया रन्जना शाह र सोही वडाको चौलाबोटका ६० वर्षीय गमबहादुर वलीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
दुर्घटनाका अन्य घाइते मध्य सोही वडाकी २९ वर्षीया गीता बुढाथोकी, रातामाटाका ६३ वर्षीय विक्रम वली, मालजुडाी २७ बर्षीया लीला खत्री वली , कोबाराकी ६५ वर्षीया तिलसरा विक रहेको प्रहरीले जानकारी दिएको छ ।
बाग्चौर नगरपालिका–१२ बाफुखोलाबाट दाङको तुलसीपुरका लागि छुटेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको रा १ ख २५४१ नम्बरको बस बाग्चौर नगरपालिका–७ चौफारीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको थियो । आइतबार बिहान साढे १० बजे बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
बसमा कुल २७ यात्रु सवार रहेपनि अन्यको अवस्था भने सामान्ने रहेको प्रहरीले बताएको छ । तीब्र गतिको बस अनियन्त्रित भइ सडकमै पल्टिएको थियो । बस चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
