२०८१ कार्तिक १९ गते सोमवार

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं,भदौ १४ । आज जनैपूर्णिमा (ऋषि तर्पणी) तथा रक्षाबन्धन पर्व देशभर मनाइँदैछ ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । यो पर्वमा वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) लगाए नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यता छ । सोही मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा अहिले पनि प्रचलित छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् । यसो गर्दा सबै चिजबाट रक्षा हुने विश्वास गरिन्छ ।

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरि तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने शास्त्रमा उल्लेख छ । सोही अनुसार यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् ।

यस वर्ष तिथि घटबढका कारण बुधबार वा बिहीबार कुन दिन जनै धारण गर्ने भन्ने अन्योल छ । कतिपयले बुधबार नै नयाँ जनै धारण गरेका छन् । नेपाल पञ्चांग निर्णायक विकास समितिले भने बुधबार विज्ञप्ति जारी गर्दै भदौ १४ गते नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन मिल्ने स्पष्ट पारेको छ । १३ गते पूर्णिमासँगै भद्रा पनि रहेको र त्यो रातको नौ बजेसम्म नै रहने भएकाले १४ गते नै जनै धारण गर्नु उपयुक्त हुने समितिको ठहर छ ।

यस वर्ष तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा पनि आज एकैदिन परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचको प्रेम अझ प्रगाढ हुने विश्वास गरिन्छ ।

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाएर भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन पनि छ । क्वाँटी खाँदा रोग नलाग्ने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास गरिन्छ ।

जनैपूर्णिमाका दिन पशुपतिनाथ लगायत देशभरका मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । जनैपूर्णिमाका दिन विभिन्न ठाउँमा मेला पनि लाग्ने गर्छ ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *