फोटो क्याप्सन ः सडक स्तरोन्नति गर्न थालिएको तुलसीपुर बजार क्षेत्र ।
तुलसीपुर भदौ १० । तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रभित्र स्मार्ट सिटि अन्तर्गत दश किलोमिटर सडकको स्तरोन्नति गरिने भएको छ । स्मार्ट सिटि अन्तर्गत बजार क्षेत्रभित्र वडा नम्बर ५,६ र १२ का सात वटा क्षेत्रको दश किलोमिटर सडकको स्तरोन्नति गरिने भएको हो ।
सडकको चौडाई १५ मिटरको रहनेछ नयाँ शहर आयोजना समन्वय कार्यालयले स्मार्ट सिटिका लागि प्रस्ताव गरेको थियो ।
स्मार्ट सिटिको विस्तृत विवरण प्रतिवेदन अनुसार सडक स्तरोन्नतिका लागि ७४ करोड ५४ लाख ३७ हजार बजेट आवश्यक पर्ने देखिएको छ । १५ मिटर चौडाई सडकमा साइकल लेन,फुटपाथ रहेको छ । बजार क्षेत्रभित्र पर्ने वडा नम्बर ५का अधिकांश सडक क्षेत्रहरु स्मार्ट सिटिअन्तर्गत स्तरोन्नति हुने भएका छन् ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार दश किलोमिटर सडकखण्ड अन्तर्गत आंशिकरुपमा दश वटा घर भत्किने भएका छन् । त्यस्तै ६ वटा रुख र १०९ वटा बल्लाबल्ली कटान गर्नुपर्ने देखिएको छ । सडक स्तरोन्नतिका क्रममा एक हजार आठ सय ८२ वटा रुख रोपिने भएको छ । सडक क्षेत्रभित्रको लाभान्वित जनसंख्या तीस हजार रहेको छ ।
प्रतिवेदनअनुसार आयोजना कार्यान्वयन भएपश्चात् स्थानीय तहको आय वृद्घि,सेवा पहुँचमा सुधार,आयस्रोत रोजगारीको सिर्जना हुने देखिएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सेवकराम भण्डारीले सडक स्तरोन्नतिका क्रममा दुवैतर्फको पाइपमा क्षति पुग्ने भएकाले त्यसको व्यवस्थापन गर्न आग्रह गरे ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले सडकस्तरोन्नतिसँगै सडक बत्ती,ट्राफिक लाइट,सिसिटिभिका लागि बजेटको सुनिश्चितता गर्नुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले वातावरणमा कम क्षति पुग्ने र शहरको सौन्दर्यकरण बढाउने गरी स्मार्ट सिटिअन्तर्गत सडकको स्तरोन्नति गरिने बताए । उनले सडक क्षेत्रको स्तरोन्नतिका लागि पालिकाको तर्फबाट प्रभावितहरुसँग समन्वय गरेर अघि बढिने बताए ।
स्मार्ट सिटिअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका,डडेल्धुराको अमरगढी नगरपालिका,धनकुटाको धनकुटा र पाल्पाको वालिङ नगरपालिकाको सडक स्तरोन्नति गर्न थालिएको छ ।