तुलसीपुर,भदौ १० । ‘म सफा गर्छु मेरो देश,सार्वजनिक स्थानमा सके सफा गरौं नसके फोहोर नगरौ’ भन्ने मुल नाराका साथ सुरु गरिएको बसपार्क सरसफाई अभियानको १ सय १३ औं हप्ता पुगेको छ ।
तुलसीपुरका युवा व्यवसायी तथा बसपार्क सरसफाई अभियानका अभियान्ता निमबहादुर बुढाथोकीले २०७७ चैत १ गते देखि यो अभियानको सुरुवात गरेका हुन ।
उनकै नेतृत्वमा शनिवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित कालाखोलामा रहेको रानीघाट शबदाह गृहको परिसरमा सरसफाई गरिएको छ ।
बुढाथोकीको नेतृत्वमा गएको टोलीले शबदाह गृह र विद्यालय नजिकै रहेको शिवमन्दिर परिसरमा सरसफाई गरेको छ ।
‘बैशाख,जेठको समयमा मेरो एकजना छिमेकी बित्नुभएको थियो,त्यसबेला यहाँ आउदाँ छरपष्ट जताततै जलेका दाउरा,पानीको बोत्तलैबोत्तल,कपडाहरुको फोहोरले देखे,त्यसपछि यो क्षेत्रमा सरसफाई गर्नुपर्छ भन्ने योजना अनुरुप शबदाह स्थलमा सरसफाई गरेका हौं,उनले भने ।’
सरसफाई अभियान्ता बुढाथोकीले ६३ हप्ता सम्म आफु एक्लैले बसपार्क सफा गरेको र त्यसपछि स्थानीय पालिकाका जनप्रतिनिधि,नागरिक समाज,यातयातकर्मी,व्यसायी,विद्यार्थी लगाएत विभिन्न क्षेत्रका व्यक्तीहरु सरसफाई अभियानमा जोडिएको बताए ।
‘जथाभावी फोहोर फाल्दा बातावरणीय प्रदुषण बढेको हुनाले अब फोहोर सफा गर्ने मात्र होइन फोहोर नै नगर्ने योजना ल्याउनुपर्छ भन्ने उद्देश्यले सरसफाई अभियानलाई निरन्तरता दिइराखेको छु,‘उनले भने ।’
त्यस अवसरमा मजदुर संगठन लुम्बिनी प्रदेशका उपाध्यक्ष केशव बहादुर भण्डारीले बुढाथोकीले थालेको सरसफाई अभियानले समाज रुपान्तरणमा ठुलो मद्धत पुगेको बताए ।
त्यस्तै मावि कालाखोलाका सह–प्रध्यानाध्यापक छवि न्यौपाने सरसफाई मानव जिवनमा अत्यन्तै आवश्यक रहेको बताए । उनले शबदाह जस्तो सम्वेदन्शील ठाउँमा आएर सरसफाई गर्नु आफैमा सराहनीय कार्य भएको भन्दै अभियान्ताहरुलाई धन्यवाद समेत दिए ।
यसैबिच रानीदाह गृह परिसरमा सरसफाई पश्चात त्यहाँ बोत्तल संकलन बक्स पनि राखिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उक्त बक्स राखिएको सरसफाई अभियानता बुढाथोकीको भनाई छ ।