तुलसीपुर,भदौ ८ । शाइन रेसुगां डेभलपमेन्ट बैंक लिमिटेड तुलसीपुर शाखाले बिजौरी उद्योग वाणिज्य सघंका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा स्वागत सम्मान गरेको छ ।
शाखाले शुक्रवार बिजौरीमा एक कार्यक्रमको आयोजना गरि बिजौरी उद्योग वाणिज्य सघंका नवनिर्वाचित अध्यक्ष रेश्मीराज खड्का सहित सम्पुर्ण कार्यसमिति तथा सल्लाहकारहरुलाई स्वागत सम्मान गरेको हो ।
त्यस अवसरमा बोल्दै बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काले बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरका कारण आम उद्योगी,व्यवसायीहरु मारमा परेको बताए । आर्थिक मन्दी र चर्को ब्याजदरका कारण पछिल्लो समय व्यवसायीहरु बैंक देखि भाग्ने अवस्थामा पुगेको उनले बताए ।
उनले नागरिकहरुलाई बैंकको पहुँचमा ल्याउन बित्तीय साक्षरता अभियान सञ्चालन गर्न आग्रह गरे । अझैपनि ग्रामिण भेगका नागरिकहरु बैंकको पहुँचबाट बाहिर रहेको बताँउदैँ अध्यक्ष खड्काले नागरिकहरुको सहजताका लागि बिजौरीमा शाइन रेसुंगा बैकको शाखा बिस्तारमा पहल गर्नुपर्नेमा जोड दिए ।
शाइन रेसुगां डेभलपमेन्ट बैंक लिमिटेड तुलसीपुर शाखाका प्रबन्धक दिपेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बैंकका पश्चिम कलस्टर प्रमुख मेघराज पोख्रेलले उद्योगी,व्यापारीहरु प्रत्यक्ष रुपमा बैंकसगं जोडिने भएकाले कसैलाई पनि मारमा नपार्ने गरि सेवा प्रदान गरिरहेको बताए ।
बैंकको उद्देश्य सेवा सहितको मुनाफा आर्जन गर्ने रहेता पनि संस्थाले नागरिक मैत्री सेवा प्रवाह गरिराखेको उनको भनाई छ ।
साथै उनले यहाँका उद्योगी व्यवसायीहरुसगं हातेमालो गर्दै बैंक तथा बित्तीय संस्थाको बारेमा सचेतनामुलक अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्न तयार रहेको समेत विस्वास दिलाए ।
त्यस अवसरमा बिजौरी उद्योग वाणिज्य सघंका उद्योग उपाध्यक्ष चित्र बहादुर खड्का,वाणिज्य उपाधयक्ष डिल्ली बहादुर केसी,महासचिव दीपक कुमार बस्नेत,कोषाध्यक्ष कर्ण बहादुर वलि,सदस्य अर्जुन कुमार रेग्मी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।