नारायणपुर,भदौ ४ ।मुगुकी सविना बुढा दाङको घोराही–१० नारायणपुरमा रहेको शिद्ध रत्ननाथ माविमा आइएसी एजी डिप्लोमा तेस्रो वर्षमा अध्ययन गरिरहेकी छिन । उनले विद्यालयमै सिमी,बोडी,भिन्डी,च्याउ,खुर्सानी,गोपी लगाएतका तरकारी उत्पादनको काम पनि गरिरहेकी छिन ।
घरमा खेती किसानी नगरेकी सविना अहिले विद्यालयमा पढ्दै साथीसंग मिलेर काम गर्न पाउदाँ खुसी छिन । कृषि बाली बिज्ञान पढ्दै तरकारी उत्पादनमा जोडिएर काम गर्दा धेरै नयाँ अनुभव बटुलेको उनी सुनाउँछिन । उनले पहिलो पटक विद्यालयमै च्याउ बनाउन सिकेको बताइन ।
‘मुगुमा खेती गर्दा वर्षभरीका लागि एकैपटक गरिन्थ्यौँ तर यहाँ एक वर्षमा धेरै थरिका बाली,तरकारीहरु उत्पादन गरिदो रहेछ । यो मेरो लागि नयाँ सिकाई भएको छ,‘उनले भनिन् ।’ उनले विद्यालयले सञ्चालन गरेको पढ्दै–कमाउँदै कार्यक्रममा जोडिएपछि आर्थिक रुपमा केही सजिलो भएको बताइन ।
साथै उनले पढाई सकिएपछि आफ्नै ठाउँमा गएर परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउने र कृषि पेसालाई अघि बढाउने योजना सुनाइन ।
त्यस्तै घोराही –१० नारायणपुर जलौराका रोमिङ् चौधरी पनि सोही विद्यालयमा तेस्रो वर्षमा बाली बिज्ञान पढिरहेका छन । ‘घरमा कृषि काम गर्नुपरेको थिएन,’ उनले भने,‘तर यहाँ आइसकेपछि पढाई सगैं सबैजना प्रयोगात्मक सीप सिकिरहेका छौँ।’
उनले बिहानी समयमा कक्षा–कोठामा सैद्धान्तिक ज्ञान लिने र दिउँसोको समयमा सिकेको सीपलाई व्यवहारिक रुपमा प्रयोग गरिरहेको बताए ।
‘परम्परागत रुपमा गाउँघरमा खेती गर्दै आएका कृषकहरुमा नयाँ प्रविधिको बारेमा ज्ञान नहुदाँ सोचेअनुरुप धेरै उत्पादन नभएको हामीले देख्ने गथ्र्यौ,’ ,उनले भने, ‘ती सबै कुराहरु पढेर व्यवहारिक रुपमा आँफै काम गरेपछि मात्र थाहा हुँदो रहेछ ।’
सविना र रमिङ् मात्रै होइन । सोही विद्यालयमा अध्ययनरत दंगीशरण –६ की रेणु डाँगीपनि पढ्दै–कमाउँदै कार्यक्रम अन्तरर्गत साथीहरुसगं तरकारी उत्पादन गर्छिन । ‘यो काम घरमा नगरेको हुँदा सुरु–सुरुमा अलि गा¥हो भयो,’उनले भनिन्,‘गर्दै जाँदा सहज हुँदो रहेछ ।’
उनले कृषि पढ्न सुरु गरेदेखि पहिलो पटक च्याउ बनाउन सिकेको र सिजन अनुसार सिमी,बोडी,करेला,भिन्डी जस्ता थुप्रै तरकारी फलाउन सक्ने भएको बताइन । पढ्दै–कमाउँदै कार्यक्रममा लागेपछि रुपमा सिकाई उपलब्धि हासिल गर्न सहज भएको उनले बताए ।
घोराही –१० नारायणपुरमा रहेको शिद्ध रत्ननाथ माबिले पढ्दै कमाउँदै कार्यक्रम अन्तरर्गत विद्यार्थीलाई भविश्यमा कसरी आत्मनिर्भर हुन भनेर प्रेरित गरि रहेको छ ।
विद्यालयका बाली बिज्ञान शिक्षक प्रयाप्त चौधरीले सिटीइभिटी बाली बिज्ञान अन्तरर्गत अहिले बाली बिज्ञान विषयका तीन वटा ब्याजका विद्यार्थी पढ्दै कमाउँदै कार्यक्रममा जोडिएको बताए ।
उनका अनुसार ती विद्यार्थीले विद्यालयको चार विगाहा जमिनमा सिजन अनुसार भिण्डी, सिमी बोडी, खुसार्नी, टमाटर, काँक्रा लगाएतका विभिन्न तरकारी र च्याउ खेती गरिरहेका छन् । विद्यार्थीले गत वर्ष च्याउ उत्पादन गरेर ६० हजार बढी आम्दानी गर्न सफल भएको उनले जानकारी दिए ।
यसवर्ष त्यसलाई बढाएर दोब्बर बनाउने योजनामा रहेको शिक्षक चौधरीको भनाई छ ।
त्यस्तै शिद्ध रत्ननाथ मावी नारायणपुरका बिज्ञान र कृषि बाली बिज्ञानका कार्यक्रम व्यवस्थापक युवराज बस्नेत शिक्षा मन्त्रालयको पढ्दै–कमाउँदै कार्यक्रम दाङ जिल्लामै पहिलो र महत्वपुर्ण कार्यक्रम शिद्ध रत्ननाथले सञ्चालन गरिरहेको बताए ।
विद्यालयमा बिज्ञान र कृषि बाली बिज्ञान अध्ययन गरिरहेका ६५ जना विद्यार्थी यस कार्यक्रममा जोडिएको उनले बताए । उनले यसवर्षदेखि व्यवस्थापन संकायमा पढ्ने विद्यार्थीलाई पनि पढ्दै कमाउँदै कार्यक्रममा जोड्ने प्रयास गरिने बताए ।
कृषि बाली बिज्ञान अध्यययन गरिरहेका विद्यार्थीले कक्षामा पढेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा कसरी लागु गर्ने र व्यवहारबाट थप कुराहरु सिकेर भोलीको सुनौलो भविष्यका लागि कसरी सक्षम बन्न सकिन्छ भन्ने उद्देश्यले कृषि कार्य गरिरहेको व्यवस्थापक बस्नेतले बताए ।
उनका अनुसार विद्यालयको नाममा रहेको ४ विगाहा जग्गालाई तारवार गरेर विभिन्न दाताहरुबाट आवश्यक पुर्वाधारहरु माग गरि यो कार्य सञ्चालन भैरहेको छ ।
विद्यार्थी पढाई पछि खेतवारीमा पुगी घण्टा अनुसार तरकारी रोप्ने, गोडमेल गर्ने, टिप्ने,बजारमा लगेर बेच्ने काम गरिरहेका छन । त्यसबाट भएको आम्दानी विद्यालयले ५० प्रतिशत विद्यार्थीहरुको खातामा जम्मा गरिदिने गरेको छ भने अन्य रकमले सोही कार्यको व्यवस्थापन र विऊ बिजनमा खर्च गर्ने गरेको व्यवस्थापक बस्नेतको भनाई थियो ।
अर्कौ तर्फ विद्यालयले अहिलेसम्म पनि आफ्नो जग्गालाई व्यवस्थापन गर्न नसकिरहेको देखियो । बिद्यालयको कुल ८५ विगाहा जग्गा मध्ये हाल ३५ विगाहा जग्गा मात्र भाडामा छ । भने ५० विगाहा जग्गा अहिले पनि अतिक्रमणमा परेको अवस्थामा छ ।
विद्यालयले आफ्नो नामको जग्गा प्रात्तिका लागि जिल्ला प्रसासन कार्यालय, घोराही उपमहानगरपालिका,सम्बन्धित सरोकारवाला पक्षसगं पटक–पटक हार गुवार गरिरहेको शिक्षक बस्नेतले जानकारी दिए ।