दाङ, साउन ३२ । दाङको तुलसीपुर बसपार्कबाट दिनदाहाडै महिलाको घाँटीबाट तिलहरी थुतेर भाग्दै गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यानको कुमाख गाउँपालिका – ३ रागेचौरकी ५१ बर्षीया निर्मला खत्रीको तिरहरी लुटेर भाग्दै गरेका तुलसीपुर उपमहानगरपालिका – १९ बिजौरीका १८ बर्षीय नविन सुनार बिहीबार बेलुकी पख तुलसीपुर बसपार्कमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । बिहीबार बुलकी साढे पाँच बजेतिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
तिलहरी लुटेर सुनार भागेपछि स्थानीयले प्रहरीको सहयोग मागेका थिए । हल्ला खल्ला भएपछि तुलसीपुर बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यसहितको टोलीले नियन्त्रणमा लिएको हो ।
खत्री तुलसीपुर बसपार्कमा नास्ता पसल संचाल गरि बस्दै आएका छोरा बुहारीलाई भेट्न आएकी थिइन ।
खत्रीले तुलसीपुर बस पार्क झरे पछि छोरा बुहारीले संचालन गरेको थापा नास्ता पसल कहाँ नेर छ ? भनेर सुनारलाई सोधेकी थिइन ।
पहाडबाट झरेकी सोझी खत्रीले सुनका गरगहना पनि लगाएको देखेपछि सुनारले आँफै छोरा बुहारीको नास्ता पसल देखाइ दिने भन्दै तुलसीपुर बसपार्कको पुल तर्फ लगेका थिए ।
पुल नजिक पुगेपछि सुनारले जबर जस्ति खत्रीको घाँटीको तिलहरी लुटेर भागेका थिए । त्यो हल्ला खल्ला भएपनि बसपार्कको प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको थियो ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।