घोराही, साउन ३० । नेकपा माओबादी केन्द्रका प्रबक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्कर संग आफ्नो कुनैपनि साँठगाँठ नभएको बताएका छन् ।
दाङको घोराहीस्थित एक होटेलमा मंगलबार आँफु निकट केही पत्रकारलाई मात्रै बोलाइ गरिएको भेटघाटमा महराले सुन प्रकरणमा आफू बिरुद्ध संचार माध्यममा गलत अफबाफ फैलाइएको जिकिर गरेका थिए ।
सुन तस्करी प्रकरणमा जोडिएका चिनिया नागरिक वाङलाई आँफूले फलफूल व्यापारिको रुपमा मात्रै चिनेको र त्यही रुपमा मात्रै कुरा गरेको उनले बताएका थिए ।
फलफूल ब्यापारी बाहेक वाङलाई अर्कौ रुपमा नचिनेको र उनी संग सुनका बारेमा कहिलै फोनमा कुरापनि नभएको भन्दै महराले आफ्नो बचाउ गरेका थिए ।
एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गर्न वाङ आँफु कहाँ आएको भने नेता महराले स्वीकार गरेका थिए ।
सोही आधारमा आफुले भन्सारका कर्मचारी संग कुरा गरेको र हेरेर कानुन अनुसार काम गर्न मात्रै आग्रह गरेको महराले जानकारी दिएका थिए ।
‘यदी आशंका लाग्छ भने सुन तस्कर प्रकरणमा राज्यलाई सघाउन आँफु तयार छु,’ उनले भनेका थिए ‘ मैले यो कुरा पहिलै भनि सकेको भएपनि अहिले सम्म त्यसबारे कसैले मलाई केही कुरा सोधेको छैन ।’
आँफुले अनुसन्धानका लागि बोलाउन भनि सकेको भएपनि हालसम्म कसैले नबोलाएको उनले बताएका थिए ।
आँफूमाथि मिथ्या आरोप संचार माध्यमहरुले लगाउन खोजेको भन्दै उनले गलत प्रचारबाजी नगर्न आग्रहपनि गरेका थिए ।
छोरा एटमको स्ट्याटस
महराका छोरा राहुल महराले सुन तस्कर संग आफुहरुको कनेक्सन छ भन्नु भ्रमपूर्ण रहेको दाबी गरेका छन् ।
संचार माध्यामहरुमा महराका बाबुछोराको सुन तस्कर संग ‘कनेक्सन’ छ भनेर समाचार प्रकासित भएको प्रति उनले आपत्ति जनाउदै ती सबै तथ्यहिन आरोप भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा स्ट्याटस लेखेका छन् –‘चिनजान भएको मानिस संग फोन सम्पर्क भएको बिषयलाई अतिरन्जित गर्दै राजनीतिक पूर्वाग्रह राखेर व्यक्तिको अस्तित्व तथा राजनीतिक जीवन सिध्याउन खोज्नु महाअपराध हो ।’
कोहि चिनजान भएको व्यक्ति संग टेलिफोन सम्पर्क हुनुलाई उसले गरेका गलत कार्यमा संलग्न हुनु संग जोडेर उही बिषयको शिर्षक परिवर्तन गरेर दिनानुदिन समाचार सम्प्रेषण गर्नु अत्यन्तै आपत्ति जनक रहेको महरालले उल्लेख गरेका छन् । पछिल्लो समय महराको परिवार दाङको घोराहीमा घर बनाइ बस्दै आएका छन् ।