दाङ, साउन २९ । साउन १८ गते राति साढे ९ बजेतिर रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ सल्लेकी ५२ बर्षीया हस्तकली बुढाथोकीको हत्या भयो ।
बुढाथोकीको हत्या पछि बाहिरबाट ढोकामा ताल्चा लगाइएको थियो । फोन नलागेपछि आफन्तले राति ढोका फोडेर हेर्दा उनको शब सुत्ने कोठामै फेला पारेका थिए । हस्तकलीको हत्या पछि सुनका गरगहना लुटेर लगिएको थियो ।
केही दिनको अनुसन्धान पछि साउन २२ गते हस्तकलीको हत्या गरेको अभियोगमा छिमेकी २३ बर्षीया सिर्जना बुढालाई प्रहरीले पक्राउ पछि सार्वजनिक ग¥यो ।
सृजना पक्राउ परेपछि त्यस्तै प्रकृतिको पाँच बर्ष पहिले सोही गाउँमा भएको अर्कौ घटनाका फाइल प्रहरीले फेरि खोल्यो । २०७५ असार १० गते ४६ वर्षीया आइती बुढाको पनि घरमै हत्या पछि बाहिर बाट ताल्चा लगाइएको थियो । उनको कानको गहना पनि चक्कुले काटेर लगिएको अवस्था थियो । अहिले सम्म पनि उक्त घटनामा कस्को हात थियो भन्ने खुल्न सकेको थिएन ।
एकै प्रकृतिका दुइ घटना सल्ले गाउँमा घटेको हुँदा आइतीको हत्या प्रकरणमा पनि कतै सृजनाकै हात त छैन भनेर प्रहरीले अनुसन्धान थाल्यो । जति खेर सृजना मात्र १८ बर्षकी थिइन । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नमराज भट्टराइका अनुसार अनुमानका आधारमा थालेको आइती हत्या काण्डमा पनि अहिले आएर सृजनाको संलग्नता पुष्टि भएको छ ।
डिएसपी भट्टराइका अनुसार त्यतिखेर सृजनाले पाँच हजार लिएको सापटी नतिर्नका लागि आइतीको हत्या गरेको तथ्य स्वीकार गरेकी छन् । जुन दिन आइती कहाँ उनी सापट माग्न भनेर घरमा गएकी थिइन । सापट दिँदा आइतीले सृजनालाई छोराले एसएलसीको परीक्षा दिएको र परीक्षाफल प्रकासित भएकै दिन लगेको सापटी रकम दिनुपर्ने सर्त राखेकी थिइन । संयोग त्यस्तै प¥यो । आइतीबाट सृजनाले सापटी लगेकै दिन परीक्षाफल प्रकासित भयो ।
सर्त पुरा गर्न सक्ने अवस्थामा सृजना थिइनन् । त्यसैले उनको मनमा पाल पलायो । त्यतिखेर फूटबलको महाकुम्भ बिश्वकप चलिरहेको थियो । सृजनाका श्रीमान र उनका दाजु माथिल्लो तलामा बसेर विश्वकप हेर्दै थिए ।
सृजना त्यतिखेर आफ्नो घरदेखि सुटुक्क निस्किइन । झन्डै आठ महिनाकी छोरी बोकेर चार पाँच मिनेको दुरीमा रहेको आइतीको घरमा पुगिन । साँझको पाहुना देउता समान । त्यसमा पनि छिमेकी । उनले सहजै ढोका खोलेर बास दिइन । जसै सृजना आइतीको घरमा पुगिन पानीसहित हावाहुरी चल्न सुरु भयो । आइतीले हावापानी हावाहुरी सुरु भएको हुँदा आफ्नै घरमा सुत्न सृजनालाई आग्रह गरिन । उनीहरु भूइ तल्लामा थिए । जहाँ भान्सा थियो । उनका श्रीमान बिदेश थिए । एलएलसी दिएका छोरा माथिल्लो कोठामा थिए । आइती माथि खाटमा र सृजनाका आमा छोरी एउटै कोठामा र संग संगै भूइमै सुते । हावाहुरी चलेको हुँदा कसैले सुन्दैन भन्नेमा सृजना ढुक्क भइन ।
त्यही अवस्थाको मौका छोप्ने सृजनाको मनमा पाप जागि सकेको थियो । उनले सुत्नु पूर्व नै खाट मुनि राखिएको बञ्चरो, कोदालो मात्रै हैन सोही कोठामा राखिएको काठको पिर्कासमेत नियालेकी थिइन ।
आइती र सृजनाका छोरी गहिरो निन्द्रामा परे । सृजनाको मनमा छुट्टै योजना छँदै थियो । उनी निदाएकी थिइनन् । आइती गहिरो निन्द्रामा परेको एक घन्टा पछि सृजनाले उठेर सोही कोठामा रहेको काठको पिर्काले आइतीको टाउकोमा प्रहार गरिन । आइती धन्मनाउँदै उठेर सृजना संग जाइ लाग्न थालिन । त्यतिबेला सृजनाले खाट मुनिबाट बञ्चरो निकालेर आइतीमाथि जथाभाबी प्रहार गरिन । कोदालोले पनि त्यसैगरि आक्रमण गरिन ।
त्यो आक्रमण बाट आइती केही बेरमै चलमलाउन छोडिन ।
उनको प्राण पखेरु उडि सकेको थियो । त्यसपछि सृजनाले आइतीको कानमा लगाएका एक ÷ एक तोलका सुनका गहना चक्कुले काटिन । निदाइ रहेकी आफ्नी छोरीलाइ बोकिन । ताला खोजेर आइतीको घर बाहिरबाट लगाइ दिइन । डिएसपी भट्टराइका अनुसार सृजनाले त्यसपूर्व आफ्नी जेठाननी दिदीको सुन बन्धक राखेर १५ हजार रुपैंया सुन पसलबाट झिकेकी थिइन । एक महिना फिर्ता सुन निखन्ने सर्तमा सुन पसलेले पैंशा दिएका थिए ।
तर डेढ महिना बितिसकेको थियो । त्यसमा पनि सुजनाले आइती संग थप पाँच हजार ऋण लिएपछि २० हजार पुग्यो । उनको मनमा अब त्यो ऋण कसरी तिर्ने ? भन्ने प्रश्न उब्जियो । उनले मनमा पाँच हजार तिर्नु भन्दा आइतीको हत्या गर्ने योजना बुनेको प्रहरी बताउँछ ।
सृजना मुटुकी रोगी थिइन । चिकित्सकले पहिले नै सृजनालाई स्वास्थ्यको कारण देखाउँदै उनलाई बच्चा नजन्माएकै राम्रो हुन्छ भन्ने सल्लाह दिएका थिए । तर, सृजनाले छोरीलाई जन्म दिइ सकेकी थिइन । आँफु लामो समय बाँच्नका लागि जसरीपनि उपचार गर्नु पर्छ भन्ने सृजनाको मनमा थियो । जेठानी दिदीको सुन निखन्न र आफ्नो उपचार गर्नका लागि सृजनाले आइतीको हत्या गरेकी हुँ भनेर वयान गरेको डिएसपी भट्टराइले बताए ।
हत्या पछि सृजनाले आइतीको सुन स्थानीय सुन पसलमा गालेर बेचिन ।
जेठानी दिदीको सुन राखेर निकालेको १५ हजार तिरिन । त्यसको केही समय पछि सृजना बाँकेको नेपालगंज गएर आफ्नो श्वास्थ्य चेकअप गराइन । चिकित्सकले त्यस्तो कुनै समस्या छैन भनेपछि बल्ल ढुक्क भइन । हाल उनकी ती छोरी ६ बर्षमा लागेकी छन् ।
आँफुले गरेको अपराधको पाँच बर्ष पुरा हुँदापनि कसैले पनि सुँइको नपाएको हुँदा सृजनाको मनमा कसैले थाहाँ पाउँदो रहेन छ भनेर ढुक्क बनिन् । उनलाइ त्यो थाहाँ थिएनकी खुनले बाटो दिदैन । एक दिन अपराध धुरीबाट भएपनि कराउँछ । त्यही कारण उनी अर्कौ अपराध गर्न हौसिएको डिएसपी भट्टराइ बताउँछन् ।
१८ बर्षकै उमेरमा आइतीको हत्या गर्दा सृजनाको परिवारमा चरम गरिबी थियो । उनका श्रीमानको कुनै रोजगारी थिएन । तर, यतिखेर सृजनाका श्रीमान खाद्य उद्योगमा परिचरको काममा छन् ।
सृजनाले खाद्य उद्योगमा श्रीमान परिचरको रुपमा रहेको लाभ उठाउँदै त्यहाँबाट केही सस्तोमा खाद्यान्न ल्याइ स्थानीय ब्यक्तिहरुलाई केही फाइदा खाएर बेच्ने गर्थिन । यो अबधिमा गर्दा गर्दा उनलाई दुइ लाख ऋण लागि सकेको थियो । बिभिन्न ब्यक्तिहरु संग कपडा किन्दा लागेको ऋण तिर्न नसके पछि उनले कतिलाई त्यही खाद्यान्न दिएर पनि ऋण चुक्ता गरेको तथ्य खुलेको प्रहरी बताउँछ ।
ऋब फेरि लागेको दुइ लाख ऋण कसरी तिर्ने ? भन्ने सृजनाको मनमा चिन्ता उत्पन्न भयो । परिचर श्रीमानको कमाइले घर खर्च नै चल्न मुस्किल हुँदै मात्रै आएको थिएन उनले फुक्टकरमा गरेको ब्यापार घाटमा पुगेर दुइ लाख ऋण भइ सकेको थियो ।
फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तै आइतीको हत्याबाट हौसिएकी सृजनाको मनमा फेरि लागेको ऋण निखन्ने उत्तम बिकल्प हस्तकली बुढाथोकीको हत्या हुन सक्छ भन्ने गलत धारणा बन्यो ।
सृजनाले पहिला योजना बद्ध रुपमा टार्गेट पहिचान गर्थिन । हस्तकलीका श्रीमानको मृत्यु भइ सकेको थियो । दुइ छोरा मध्य एक जना जापानमा थिए भने अर्का अध्यनका लागि बाँकेको नेपालगंजमा बस्दै आएका थिए । जापानमा बस्ने छोराले पठाएको धेरै रकम हस्तकली संग छ भन्ने सोच्ने भन्दापनि सृजनाले उनको कान, घाँटी र हातका औंलामा लगाएका सुनका गरगहना नियाल्दै आएकी थिइन ।
त्यसैले सृजनाको मनमा फेरि पाप जाग्यो । अब उनले हस्कलीको हत्या गर्ने योजना बुनि सकेकी थिइन । त्यही सोचका साथ साउन १८ गते रातिमा छिमेकी समेत रहेकी हस्तकलीको घरमा सुटुक्क पुगिन । अहिले उनको झन्डै एक बर्षको छोरा थिए । श्रीमानपनि साथमै थिए । उनीहरु निदाएपछि सृजना मदिरा लगेर हस्तकलीको घरमा पुगिन । हस्तकली घरमा एक्लै बस्थिन । उनको घरमा पुगेर सृजनाले हस्तकलीलाई उठाइन ।
संगै खाएर रमाइलो गरौं भन्ने मनसायले आँफु मदिरा लिएर आएको सृजनाले हस्तकलीलाई बताइन । त्यो कुरा हस्तकलीले सहज रुपमा लिइन । किनभने संधैं एक्लैको नियास्रो मेट्ने साथी आउँदा हस्तकलीलाई पनि खुसी नै लागेको थियो ।
डिएसपी भट्टराइका अनुसार घटनास्थलमा एउटा मदिराको रित्तो गिलास र अर्कौ आधा गिलास फेला परेको थियो । सृजनाले आँफुले खाएको नाटक गरेपनि रक्सी थोरै मात्रै खाइन । हस्तकलीको मनमा केही थिएन । अर्कौ तर्फ आफ्नै घर थियो । उनले केही नसोची आफ्नो भागको रक्सी सिध्याइन । जब उनलाई लागेको सृजनाले अनुभूत गरिन नजिकै रहेको ढुँगो (लोरो) उठाएर हस्तकलीको टाउकोमा हिकाइन । हस्तकली पीडा खप्न नसकेर लडिन । सृजनाले छोडिनन् । फेरि फेरी हिकाइन । जब हस्तकली स्थिर बनिन् अनि सृजनाले योजना अनुसार उनका कान र हातका सुनका गरगहना निकालिन । बाहिर निस्कँदा उनको घरमा पनि बाहिरबाट ताला लगाइन दिइन ।
हस्तकलीको हत्या भएको स्पष्ट देखेपछि प्रहरीले बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको प्राबिधिक टोली झिकाएर अनुसन्धान थाल्यो । पत्ता लाग्न सकेन । यो घटना नजिककै र चिनजानकै मान्छेले गरेको हो भन्ने कुरामा प्रहरी विश्वस्त थियो । गाउँका एक एक मानिसहरुलाई सोधपुछ गर्न थाल्यो । त्यही क्रममा सृजनालाई पनि प्रहरीले सोधपुछका लागि बोलायो । केही प्रश्नमै सृजना हडबडाइन ।
गल्ती गरेको मानिस कुनै न कुनै ठाउँमा चुक्नु नौलो कुरा थिएन । सृजनाले हस्तकलीको हत्या आँफुले गरेको बयान प्रहरी समक्ष गरिन । हत्या पछि सृजनाले लुटेर लगेका हस्तकलीको मोवाइल र गालेर स्थानीय सुन पसलमा बेचेका गरगहना पनि बरामद गर्न सफल भएको डिएसपी नमराज भट्टराइले बताए ।
हत्या गरिएका दुबै छिमेकी महिलाका गहना सृजनाले खलङगा बजारमा रहेका दुई वटा सुनचाँदी पसलमा बेचेको तथ्य प्रहरीले पत्ता लगाउन सफल भयो । बिल बिनाका गहना खरिद गरेको र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई जना सुन व्यवसायी समेतलाई पक्राउ गरेको छ ।
राप्ती सुनचाँदी पसलका शोभाकुमारी सुनार सोनी र नारायणी सुन चाँदी पसलका कृष्णबहादुर बिश्वकर्मा पक्राउ परेका छन् । प्रहरीले कर्तव्य ज्यान एवं डाँका तथा आपराधिक उपर्द शिर्षकमा मुद्दा चलाउने तयारीका साथ जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाएको डिएसपी भट्टराइले बताए ।