घोराही, साउन २८ । दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जानकारी दिए ।
उनका अनुसार घर नजिकै रहेको पत्रे खोलाले विकलाई बिहान ८ः३० बजेतिर बगाएको थियो । प्रहरी नायब उपरीक्षक गौतमले भने, ‘‘घरमा शौचालय नभएका कारण दिसा गर्न सधैँ खोला जाने गरेका थिए, त्यही क्रममा आज खोला गएको समयमा विकलाई खोलाले बगाएको भन्ने खुलेको छ । अहिले बेपत्ता विकको खोजी कार्य भइरहेको छ ।’’
बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।
प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार