तुलसीपुर,साउन २७ । वाइसिएल तुलसीपुर नगर कमिटी राप्ती प्रादेशिक अस्पताल परिसरमा सरसफाई गरेको छ ।
वाइसिएल तुलसीपुर नगर कमिटी शनिवार एक कार्यक्रमका बिच राप्ती प्रादेशिक अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरेको हो । नगर कमिटी अध्यक्ष विप्लव वलिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका तुलसीपुर नगर कमिटी इन्चार्ज प्रभात बलिले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले अस्पताल परिसरमा सरसफाई गरिएको बताए ।
उनले अस्पताल परिसरमा बिरामीको अत्यधिक भीड हुने हुँदा फोहोर व्यवस्थापनमा सहयोग गर्न सहजीकरण गरिएको बताए ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि राप्ति प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ओम अर्यालले अस्पातलमा बिरामीहरू विभिन्न समुदायबाट आउने हुँदा फोहोर व्यवस्थापनमा चुनौती भएको बताए ।
उनले बिरामीहरुलाई फोहोर डष्बिनमा राख्नु पर्छ भन्ने चेतनाको विकास अझै हुन नसकेको बताए । सफा सुन्दर वातावरण भए अस्पतालमा आउने बिरामीको रोग पनि आधा सञ्चो हुने डा. अर्यालको भनाई छ ।
सरसफाई कार्यक्रममा वाइसिएल केन्द्रीय सचिव प्रविन वलि, केन्द्रीय सदस्य माइकल गुरुताल, केन्द्रीय सदस्य हरिश गिरी, मजदुर संगठनका केन्द्रीय उपमहासचिव घनश्याम डाँगी, स्वास्थ्य संगठनका नेता जिबन खड्का, वाईसिएल नगर इन्चार्ज हेबेन्द्र शाही आदि दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
पछिल्लो समयमा वाइसिएलले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक काम कार्यक्रमहरुलाई निरन्तरता दिने संगठनका केन्द्रीय सचिव प्रबिन वलिले जानकारी गराए ।