२०८० चैत्र १६ गते शुक्रवार

आठौं राष्ट्रिय खेलकुद ..


बाँके, बैशाख १० ।
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर ५ लाई ट्राइब्रेकरमा ३–१ गोलले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो । ५ नम्बर प्रदेशका दिपेन्द्रसिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता लिएको थियो । २० मिनेटमा आर्मीका भरत खवासलाई रोक्ने क्रममा ठकुरीले आत्मघाती गोल गरेका थिए ।

आर्मीले ३१ मिनेटमा दीपकुमार लामाको गोलबाट अग्रता फराकिलो बनाएको थियो । दुई गोलले अगाडि भएपछि ‘डिफेन्स’ खेलेको आर्मीलाई ५ नम्बर प्रदेशले दबाबमा राखेको थियो । आर्मीले आक्रमक खेल्न छोड्ने बित्तिकै ५ नम्बर प्रदेशका खेलाडीले एकोहोरो दबाब बढाएका थिए । त्यसक्रममा ३३औँ मिनेटमा ५ नम्बर प्रदेशले पेनाल्टी पायो ।

त्यसलाई विनोद केसीले सदुपयोग गरे । ३५ मिनेटमा फेरि ५ नम्बर प्रदेशका विवेक पुनलाई डिएरिया भित्र आर्मीले फल ग¥यो । दोस्रो पटक पाएको पेनाल्टीलाई पनि विनोद केसीले गोलमा परिणत गरे । निर्धारित समयमा खेल बराबरी भयो । स्ट्राइकरसहित ६ जना नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रहेको आर्मीलाई सहज जित भने मिलेन ।

खेलको निर्णय ट्राइबेकरबाट लिइयो । ट्राइबेकरमा ५ नम्बर प्रदेशका खेलाडीमा अनुभवको कमी देखियो । आर्मीका पाँचमध्ये तीनजनाले गोल गरे । नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेका थिए । दीपक गुरुङ र जितेन्द्र कार्कीले गोल गर्न सकेनन् । ५ नम्बर प्रदेशबाट कृष्ण रानाभाटले मात्रै गोल गरे ।

दिपेन्द्रसिंह ठकुरी, चेतन थारु र विवेक पुनले गोल गर्न सकेनन् । ५ नम्बर प्रदेशका किपर प्रितम खड्काले आर्मीका दीपकले हानेको बल बचाएपछि ५ नम्बर प्रदेशलाई अग्रता लिने मौका थियो । त्यसलाई दिपेन्द्रले खेर फाले । त्यसपछि कप्तान चेतनले नै गोल गर्न नसकेपछि आर्मीले ‘लिड’ ग¥यो र खेल जित्यो ।

आर्मीबाट नेपाली राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठ, भरत खवास, किपर विकेस कुथु, सन्तोष तामाङ, टंक बस्नेत, सुमन अर्याल, यू–२३ का सेसान्क लिम्बु र विकास खवास, राष्ट्रिय जर्सी लगाइसकेका टेकबहादुर बुढाथोकी र जितेन्द्र कार्की मैदानमा उत्रिएका थिए । लगातारको खेल र गर्मीले गर्दा आर्मीका नवयुग, विमल पाण्डे, युद्ध शाही, सुशील श्रीवास्तव र टंकबहादुर बुढाथोकी बिरामी छन् ।

दोस्रो हाफमा खेल लड्बडाएपछि र ५ नम्बर प्रदेशले दबाब दिएपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले नवयुगलाई मैदानमा उतारेका थिए । आर्मीका प्रशिक्षक न्यौपानेले पहिलो हाफमा धेरै राम्रो खेले पनि दोस्रो हाफमा ‘इजी’ खेल्दा गोल खाएको बताए । समूह ‘ख’ मा रहेको आर्मी उपविजेता हुँदै सेफिफाइनलमा पुगेको थियो। उसले लिगचरणमा सुदुरपश्चिम प्रदेशसँग बराबरी खेलेको थियो भने नेपाल प्रहरीसँग १–० गोलले पराजित भएको थियो।

लिग चरणमा एउटा पनि खेल नहारी समूह ‘क’ को विजेता हुँदै सेमिफाइनलमा पुगेको ५ नम्बर प्रदेश जितको नजिक पुगेर पनि निरास भएको छ । प्रशिक्षक सानु तामाङले खेलाडीमा अनुभवको कमीले गर्दा लिड गर्ने अवसर पाउँदा पनि ट्राइब्रेकरमा गोल गर्न नसक्दा पराजित भएको बताए । मंगबार साँझ अर्को सेमिफाइनल नेपाल प्रहरी र एपिएफका बीच हुनेछ ।

प्रकाशित मिति : २०७६ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *