२०८२ माघ ४ गते आइतवार

अस्तु सेलाउँदा बगेर बेपत्ता लोकेन्द्र ६ दिनसम्मपनि फेला नपरेपछि परिवारले काज किरियाका कार्य सुरु गरे

तुलसीपुर , साउन २४ । सवारी दुर्घटनामा मृत्यु भएका मामाका छोरा दाजुको अस्तु सेलाउन देउघाट गएका तुलसीपुरका एक युवा नारायणी नदीमा बगेर बेपत्ता भएको बुधबार ६ दिन पुरा भयो ।

दाङ तुलसीपुर उपमहानगरपालिका – १२ कौवापुरका ३२ बर्षीय लोकेन्द्र भुसाल शुक्रबार बिहान नारायणी नदीले बगाएर वेपत्ता छन् । कौवापुरकै मामाका छोरा ३२ बर्षकै रेमन्त बस्नेतको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको आत्माले मोक्ष प्राप्ति गरोस भन्ने उदेश्यले देवघाटमा अस्तु सेलाउन भनेर लोकेन्द्र साउन १८ गते बेलुका तुलसीपुरबाट एक्लै गएका थिए ।

इलाका प्रहरी कार्यालय देवघाटका सहायक हवल्दार वीरेन्द्र तामाङले शुक्रबार बिहान सात बजेर १९ मिनेट जाँदा लोकेन्द्र बगेर बेपत्ता भएको र खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

लोकेन्द्र बग्दै गरेको दृष्य डिउटीमै रहेका हवल्दार तामाङले टाढै बाट आँफुले पनि देखेको बताउँछन् । ‘नदी किनारमा हल्ला खल्ला भएपछि के भयो भनेर नियाल्दा मैले पनि मानिस बग्दै गरेको टाढै बाट देख्ना साथ सबैतिर सूचना गरेको थिए,’ उनले भने ‘तर बाढी ठूलो भएका कारण जोगाउन सकिएन र हेर्दा हेर्दै केही बरेमै उहाँ अलप हुनु भयो ।’

पुुरेत राखेर मावली दाजु रेबन्तको मोक्ष प्राप्तिका लागि कपाल मुन्डन लगाएत सबै प्रक्रिया पुरा गरि लोकन्द्र अस्तु सेलाउन भनेर नदीमा पसेका बखत बगेर बेपत्ता भएको अन्य प्रत्यक्षदर्सीले पनि बताएका थिए ।

नदीको पस्नु भन्दा पहिले उनले डिलमा मोवाइल, पर्स, नगद र लत्ता कपडा लगाएतका सामाग्री राखेका थिए । लोकेन्द्र अस्तु सेलाउन दुइ नदी मिसिने दोभानमा पुगेका थिए । लोकेन्द्र रेबन्तको अस्तु सेलाउन भनेर घरबाट एक्लै त्यहाँ पुगेपनि दाङकै अन्य ब्यक्तिहरु साउन १८ गते देवघाटमा थिए । उनीहरुले पनि लोकेन्द्र बगेको प्रत्यक्ष देखेका थिए ।

उनलाई फेला पार्न नसकेपछि सोही दिन त्यहाँ रहेका अन्य दंगालीको रोहबरमा प्रहरीले मुचुल्का बनाइ लोकेन्द्रका मोवाइल, पर्स, नगद पैंशा, लाइसेन्स लगाएतका सामाग्री इलाका प्रहरी कार्यालय देवघाटमा लगि राखिएको थियो । बेपत्ता लोकेन्द्रको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली आर्मीका साथै गोताखोहरु समेतले छ दिन दिनसम्म खोजी गर्दापनि फेला पार्न सकेका छैनन् ।


ज्वाँइ बेपत्ता भएका खबर पाउना साथ केही आफन्त संग तुलसीपुरबाट गएका सशुरा इश्वरी बस्नेतले लगातार खोजी गर्दापनि फेला पार्न नसकेपछि पाँचौ दिनका दिन घर फर्किएको जानकारी दिए ।

‘सशस्त्र प्रहरी, नेपाली सेनासहितको टिमले देवघाटदेखि सम्भव भएसम्मका दुःख गरि खोजी गर्दापनि कतै फेला पार्न सकिएन,’ इश्वरीले भने ‘ घटनास्थलदेखि दक्षिण एक सय २० किलोमिटर भारतले बाँधेको बाँधसम्म खोजी गर्दापनि फेला नपरेपछि निराश हुँदै हामी फर्कनुको बिकल्प रहेन।’


खोजी कार्य भने निरन्तर जारी रहने प्रहरी प्रशासनले विश्वास दिलाएको उनले बताए । आफन्तहरुका अनुसार जाजरकोटको एक बिद्यालयमा अध्यापनरत शिक्षक लोकेन्द्र र रेबन्द्र एक दिनले मात्रै जेठा कान्छा थिए । नातामा उनीहरु माउली दाजु भाइ भएपनि उनीहरुका बीचमा घनिष्ट मित्रता थियो । बर्षे बिदा भएको हुँदा लोकेन्द्रपनि घरमै आएका थिए ।

तुलसीपुर – १२ रझेनामा साउन १५ गते बेलुका ८ बजेतिर रेमन्त एउटा सानो जस्ता पाताको टुक्रा राखेर रा ७ प ३४१६ नम्बर मोटरसाइकलमा सवार थिए । उनैले रा २ प ४३२२ नम्बरको स्कुटीलाइ पछाडि बाट ठक्कर दिएपछि सडकमा बजारिन पुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सुचना अधिकारी सुशान्त मिश्रले जानकारी दिएका थिए । स्कुटी चालक अवस्था सामान्ने रहेका कारण उनी सोही दिननै उपचार पछि घर फर्किएकी प्रहरी बताउँछ ।


रबेन्तको टाउको लगाएतमा गम्भीर चोट रहेको हुँदा तुलसीपुरमा प्रारम्भीक उपचार पछि तत्काल उनलाई बाँके रिफर गरिएको थियो । बाँकेमा पनि उपचार संभव नभएपछि छिमेकी देश भारतको लखउन लगिएको थियो । उपचारका क्रममा साउन १७ गते दिउँसो रेबन्तको त्यही मृत्यु भएको थियो । रेबन्त दुर्घटनामा परि अचेत भएदेखि नै लोकेन्द्रले उनको साथ छोडेनन् । उनी संग संगै भारतसम्म उपचारका लागि लगेर गएका थिए । रेबन्तको मृत्यु पछि संगसंगै शब ल्याएर घर आएका थिए ।

साउन १८ गते रबेन्तको तुलसीपुर– १२ सितलपुरस्थित बबइ नदी घाटमा अन्तेष्टि गरिएको थियो । अन्तेष्टि लगतै सोही दिन बेलुका नै अस्तु त्रिबेणी घाटमा सेलाउन भनेर लोकेन्द्र एक्लै देवघाट पुगेका थिए । रेबन्त दुर्घटनामा परेदेखि मृत्यु हुँदासम्म एक पल नछोडेका लोकेन्द्र दाजु रबेन्तको मृत्यु पछि बिछिप्त बनेको उनलाई नजिकबाट चिन्नेहरुले बताउँछन् ।


‘त्यस्तो बिछिप्त अवस्थाको ब्यक्तिलाई एक्लै अस्तु सेलाउन जान दिनुपनि आफन्तको कमजोरी थियो,’ लोकन्द्रका एक जना साथीले भने ‘ कम्तिमा लोकेन्द्रका मनमा के कुरा खेलिरहेको छ भन्नेसम्म हेक्का नराख्नु कमजोरी थियो ।’ सशुरा इश्वरी बस्नेतका अनुसार उनकी श्रीमति मुना बस्नेतले ज्वाँइ लोकेन्द्र देवघाट पुगि सकेपछि साउन १८ गते बेलुका नौ बजेतिर फोनमा कुरा गरेकी थिइन ।


‘मुनाले ज्वाँइलाई बाढी आएको होला ख्याल गर्नु होला, नदीमा नपस्नु होला डिलबाटै शिरमा पानी राखे हुन्छ , घरमा आउँदा सुनपानी छिटौंला भनेर संझाइ बुझाइ गरेकी थिइन,’ इश्वरी बस्नेतले भने ‘ ज्वाँइले हुन्छ यो बर्षामा म नदीमा पस्दिन भन्नु भएको थियो, तर नसोचेकै घटना हुन गयो ।’

नारायणीमा बगेर बेपत्ता लोकेन्द्र छ दिनसम्म पनि फेला नपरेपछि उनको घर परिवारले सरसल्लाह गरि काय किरियाका कार्यक्रम साउन २४ गतेदेखि सुरु गरेको सुशुरा इश्वरी बस्नेतले फरककोणलाई बताए । ‘आफन्त तथा घर परिवारले आजदेखि काजकिरियाका कार्यहरु गर्न सुरु गर्नु भएको छ,’ इश्वरीले भने ‘ अब जिवितै रहने संभावना छैन भन्ने निष्कर्षमा घर परिवार र आफन्त पुगेका छौं ।’

लोकेन्द्र आफ्नो परिवारका एक्ला छोरा थिए । जाजरकोट जिल्लाको चौरजहारीमा शिक्षण पेशा गर्दै आएका लोकेन्द्र र श्रीमति संगै बाँकेको कोहलपुरमा कोठामा भाडा लिएर बस्दै आएका थिए ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *