तुलसीपुर,साउन २४ । २९ औँ विश्व आदिवासी दिवस (९अगष्ट)को अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले शुभकामना व्यक्त गरेका छन ।
एक विज्ञप्तिमार्फत् उनले सम्पूर्ण आदिवासी जनजाति समुदायलगायत सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्वि,सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन ।
संयुक्त राष्ट्र संघले सन् १९९४मा आदिवासी जनजातिका आधारभूत मानवअधिकार संरक्षण र सम्बर्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरका आदिवासी जनजातिहरूले यस दिवस मनाउँदै आएको पाइन्छ । आदिवासी जनजातिको अधिकार र मुद्दालाई उठान गर्ने दिनकारूपमा प्रत्येक वर्षको ९ अगष्टका दिन यस दिवस विभिन्न कार्यक्रमका साथ बनाउने गरिन्छ ।
बहुजातीय,बहुभाषिक,बहुधार्मिक,बहु–साँस्कृतिक एवम भौगोलिक विविधतायूक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता हाम्रो समाजको मूलमन्त्र हो ।सामाजिक,सांस्कृतिक ,सहिष्णुता र सद्भावलाई संरक्षण एवम प्रवर्धन गर्दै वर्गीय,जातीय विभेदको अन्त्य गरी आर्थिक समानता,समृद्वि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्वान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प नेपालको संविधानले गरेको छ ।
यस क्षेत्रमा बसोबास गर्दै आएका प्रत्येक जनजाति आदिवासीका भाषा,लिपि,संस्कृति,सांस्कृतिक सभ्यताको संरक्षण,संवर्धन गर्नु हाम्रो दायित्व हो । विश्व आदिवासी दिवसका अवसरमा हामीबीच एकता,पारस्परिक सहयोग,सद्भाव,भाषा,संस्कार,संस्कृतिको जर्गेना गर्ने सत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।