दाङ, साउन २३ । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको सनाखद भएको छ ।
दुर्घटनामा परि जिल्लाको माडी गाउँपालिकाका २२ बर्षीय प्रकाश बाँठा, माडी – ४ का ५१ बर्षीय गोर्खे डाँगी, उनकी श्रीमति ५० बर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका– ३ का ४६ बर्षीय भक्त बिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले चारै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा परि थप १९ जना घाइते भएको भुसालले बताए । प्रहरीका अनुसार बसमा कुल २४ यात्रु सवार थिए ।
घाइते मध्य रोल्पा नगरपालिका – ६ दार्बोटका २५ बर्षीय कमानसिंह घर्ती, माडी गाउँपालिका – २ का २० बर्षीय जितेश बाँठा र त्रिबेणी गाउँपालिका – २ की १७ बर्षीया पूर्णिमा बुढाको अवस्था गम्भीर रहेको प्रहरी प्रबक्ता भुसालले जानकारी दिए ।
अन्य घाइते मध्य दुइ जना बाहेक सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिला नजिकै दिउँसो सवा १ बजेरतिर ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको थियो ।
सहिद मार्ग हुँदै उक्त बस रोल्पाबाट दाङ घोराही तर्फ आउँदै थियो । बर्षाले सडक चिफ्लो भएका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।
प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको छ । फरार चालक एक घन्टा पछि प्रहरी संम्पर्कमा पुगेका थिए ।