प्युठान,साउन २१ । प्युठानको मल्लरानी गाउँपालिका–३ का वडाध्यको नेतृत्वमा एक सय जनाभन्दा बढी स्थानीयले सडक मर्मतको काम शुरु गरेका छन् ।
सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरे पनि सक्रियता कम भएको भन्दै आफ्नै नेतृत्वमा स्थानीयको सहभागिता गराएको वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिए।
मल्लरानी गाउँपालिका–३ धरमपानीदेखि रस्पुरकोट–गिरचौर–शिरकोट हुँदै मल्लरानी गाउँपालिका–५ को सरङकोटसम्म जोड्ने मोटरबाटोको मर्मत गरिएको छ । सडक मर्मतबाट दुई वटा वडाका पाँच सय ७० वटा घरधुरी लाभान्वित भएका छन् ।
बर्खाले गर्दा मोटरबाटोका विभिन्न ठाँउमा पहिरो गएको, भलका कारण खाल्डाखुल्डी परेको तथा बाटोको दायाँबायाँ रहेका बुट्यानहरू हटाउने काम स्थानीयले गरेका हुन् ।
स्थानीयसँगै जनश्रमदानमा जुटेका मल्लरानी गाउँपालिका–३ का वडाध्यक्ष पौडेलले बर्खाको समयमा भलले गाउँका मोटरबाटो बिग्रिएको भन्दै जनश्रमदानमार्फत मर्मत गर्नुपर्ने बताए ।
बर्खाको समयमा आफ्नो बाटो आफैँ बनाऔँ भनेर सबै धरधुरी आएका छौँ स्थानीय समाजसेवी ठमानसिंह रानाले भने, वडाध्यक्ष नोमराज पौडेल आउनुभयो, आफैँ खन्नुभयो, हामीलाई हौसला प्रदान गरे । उनको हातमा फोरासमेत परेका छन्, उहाँसँगै काम गर्दा हामीलाई पत्तो नै भएन।
अर्का स्थानीय समाजसेवी देवराज पौडेलले हरेक वर्ष यस्तै बाटो मर्मत गर्नुपर्ने बाध्यता भएकोले नालीसहितको बाटोको स्तरोन्नतिको व्यवस्था गाउँपालिकाले गर्नुपर्ने बताए ।