लक्ष्मण बस्नेत
दाङ, बैशाख ९ ।
नेपाल आर्मी आठौँ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङ तुलसीपुर बेलझुण्डी रंगशालामा सञ्चालित प्रतियोगितामा नेपाल सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको सशस्त्र प्रहरीको एपिएफले टिम उपविजेता बनेको छ ।
नेपाल पुलिस ३ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ तृतीय स्थान हासिल गरेको छ । त्यस्तै ५ नम्बर प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो । महिला १८ र पुरुष १८ गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङ्गो लागेको छ ।
बैशाख ५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, ७ नम्बर प्रदेश र एनआरएनको सहभागिता रहेको थियो ।
म्याराथनका आर्मीका कृष्ण र प्रहरीकी राजपुरा च्याम्पियन
यसैबीच नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौं राष्ट्रिय खेलकुदअन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पियन बनेका छन् । ४२ दशमलव १९५ किलोमिटर म्याराथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेकर्डमा सुधार गर्दै च्याम्पियन बनेका हुन् ।
यस्तै प्रदेश नम्बर ६ का दुर्गा बहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सेकेन्डमा रजत जित्दा एपिएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे ।
त्यस्तै महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको रेकर्ड बनाउँदै पूरा गर्दै स्वर्ण जितिन् । त्यस्तै ३ घण्टा ५९ सेकेन्डमा दूरी पार गर्दै एपिएफकी पुष्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासीले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्य पदक जितिन् ।
दाङको बेल्झुण्डी रंगशालाबाट सुरुवात गरिएको म्याराथनको रुट हेमन्तपुर, बिजौरी, पर्सेनी, तुलसीपुर, दोघरे, दुधेना, अश्वारा, डाँडाचिस, कुमलगडी, मिरौली, बागर हुँदै श्रीगाउँबाट पुनः सोही ट्रयाक हुँदै बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा एक राउण्ड लगाएर अन्त्य गरिएको थियो । म्याराथनमा पुरुषतर्फ १५ र महिलातर्फ ६ जना खेलाडी गरी २१ जनाले भाग लिएका थिए ।