दाङ, बैशाख ९ ।
नेपाल कम्युनिष्ट पार्टी दाङको अध्यक्षमा टीकाराम खड्का चयन भएका छन् । पार्टीको शीर्ष नेतृत्वले जिल्ला अध्यक्षमा खड्कालाई चयन गर्दै लामो समयदेखि यहाँ चल्दै आएको विवाद अन्त्य गरेको छ । यसअघि पूर्व एमालेका जिल्ला अध्यक्ष खड्काको नाम नै सिफारिस नगरिदा पार्टीका तीव्र मतभेद सिर्जना भएको थियो ।
‘आफन्तलाई जबरजस्ती पदमा लैजाने प्रवृतिको हार भयो, नढाँटीभन्दा शंकर पोख्रेलको हार भएको छ र विधि पद्धतिले जितेको छ’, एकजना पूर्व नेकपाका जिल्ला नेताले भने ।
प्रदेश नं. ५ का नेकपाका इञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले यसअघि खड्काको नाम काटेर आफ्ना बहिनी ज्वाइँ शिवकुमार आचार्यलाई अध्यक्षको रुपमा नाम सिफारिस गरेर पठाएका थिए । विवादको मुख्य कारण त्यही थियो । त्यसप्रति असन्तुष्टि जाहेर गर्दै जिल्लाबाट गएर खड्काले पार्टी केन्द्रीय कार्यालयमा असहमति पत्र जाहेर गरेका थिए ।
लिखित रुपमै उनले जाहेर गरेको असन्तुष्टिको लामो समयपछि सुनुवाई भएको छ । दाङकै विषयलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालले समानान्तर कमिटी गठन गर्ने चेतावनी पनि दिदै आएका थिए । ‘आफन्तलाई जबरजस्ती पदमा लैजाने प्रवृतिको हार भयो, नढाँटीभन्दा शंकर पोख्रेलको हार भएको छ र विधि पद्धतिले जितेको छ’, एकजना पूर्व नेकपाका जिल्ला नेताले भने ।
अध्यक्षमा मनोनित भए लगतै अध्यक्ष खड्काले पनि नीति र विधि अनुरुप आफू अध्यक्ष भएको भन्दै खुसी साटे । उनले अब सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरे । ‘एकतालाई मजवुत पार्ने गरि सबैसँग हातेमालो गरेर म अगाडि बढ्ने छु’, अध्यक्ष खड्काले भने । त्यसैगरी नेकपाको जिल्ला सचिवमा पूर्व माओवादीका सुवास पुन चयन भएका छन् । जिल्लाका कमिटीका अन्य सदस्यहरु साविक एमाले र माओवादी मिलाएर यसअघि नै गठन भइसकेको थियो ।