तुलसीपुर,साउन १८ । तुलसीपुरमा बितको आर्थिक वर्षमा दुइ सय बढी विपद्का घटनाहरु भएका छन ।
तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले वितेको आर्थिक वर्ष २०७९/०८० मा नगर भित्र दुइ सय १९ वटा विपद्का घटनाहरु भएको जानकारी दिए ।
बितेको बर्षमा घर,गोठ एक सय ५८ वटा भत्किएका छन् । आगलागिका घटना ५२, धानबाली क्षति २३, तरकारी वालीमा क्षति ११, माछा, पोखरी क्षति १०, पशुचौपाय क्षति ६, मानविय क्षति ४ र चट्याङ् २ गरि २ सय १९ वटा विपद्का घटनाहरु भएको डाँगीले बताए ।
जसबाट तीन करोड ७७ लाख नौं हजार दुइ सय दश रुपैया अनुमानित क्षति भएको शाखा प्रमुख डाँगीले जानकारी दिए ।
वितेको वर्षमा एक सय ३२ घर–परिवारलाई २० लाख ५३ हजार रुपैंया बराबरको राहत वितरण गरिएको छ । नदी कटान, कुलाको मुहान संरक्षणका लागि तुलसीपुर क्षेत्रका ३३ स्थानमा चार सय ५३ थान तार जाली वितरण गरेको उनले जानकारी दिए ।
बाढी, डुवान, पहिरो आगलागी, हावाहुरी, महामारी, सर्पदंश,असिना,चट्याङ्, सडक दुर्घटना, भूकम्प आदी विपद्का मुख्य प्रकोपहरु मानिन्छन् ।
बिहीवार तुलसीपुरमा विपद् व्यवस्थापन शाखाको आयोजना तथा ओरेक दाङको सहकार्यमा ‘मेरो अवस्था,मेरो नेतृत्व’ विपद्को अवस्था सम्बोधनको लागि तुलसीपुर छलफल कार्यक्रममा भएको थियो ।
विपद् जोखिम न्यूनिकरणका लागि उपमहानगरपालिकाले आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना तथा सञ्चालन,आगलागि प्रकोप न्यूनिकरणका लागि दमकलको निरन्तर सञ्चालन, नगरक्षेत्रमा भएका बिपद पीडितलाई बिपद व्यवस्थापन कोषबाट राहत प्रदान जस्ता कार्यहरु हुँदै आएको सरोकारवालाहरु बताउँछन ।
विपद् व्यवस्थापनका लागि अनिवार्य रुपमा बजेट विनियोजन अभ्यास, वडा स्तरमा खोज तथा उद्धार सामाग्रीहरुको व्यवस्थापन, मेयर सुरक्षित आवास कार्यक्रम अन्तरर्गत खरका छाना विस्तापित गरि आठ सय घरपरिवारलाई जस्ता पाता वितरण लगाएतका कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा ओरेक दाङ जिल्ला संयोजक पूजा चौधरीले विपद्मा लैगिंकता आधारित हिंसा तथा आवश्यकताका सवालहरुका बारेमा अवगत गराएकी थिइन ।
विपद्को समयमा महिला, बालबालिका,जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु बढी जोखिममा पर्ने गरेको उनले बताइन । ओरेकले सन २००८ देखि विपद् स्नेह कार्यक्रम सुरु गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक दुजमान भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुरकी उपप्रमुख स्यानी चौधरीले बिपदबारे पूर्व सुचना प्रणाली,सामाजिक संरचना र भूमिका फरक हुनाले धेरै महिला बालबालिका,जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु प्रभावित हुने गरेको बताइन ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे,अधिकारकर्मी नवराज लामिछाने,अपांग महासघं दाङका अध्यक्ष देवा डाँगी लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा तुलसीपुरकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले संगठनात्मक नीति तयार, मानव संसोधन प्रणाली, अनिवार्य तालिम तथा सचेतना, उजुरी, रिपोटिङ् सम्बोधन र सयन्त्रको स्थापना, सहायता र सम्प्रेशण,संस्थामा अनुसन्धान प्रक्रिया लगाएतका अभियान थाले मात्र यौन शोषण र दुव्र्यवहारको जोखिमलाई कम गर्न सकिने बताएकी थिइन ।
उक्त कार्यक्रमको सहजीकरण ओरेक दाङका कल्पना चौधरीले गरेकी थिइन ।