तुलसीपुर, साउन १८ । तुलसीपुरस्थित सब्जिमण्डीमा तरकारी किन्न भनेर आएकी माया केसी टमाटरको मूल्य रातारात बढेको सुन्दा अचम्म परिन । यति महंगो टमाटर किन्नु कि नकिन्नु ? अलमल उनको अनुहारमा स्पष्ट झल्किन्थ्यो । केजीको दुइ सय परेपनि जसो तसो किन्न करै लाग्यो ।
जेठ अन्तिमसम्म एक सय रुपैंयामा आठ केजीसम्म टमाटर किनेकी मायालाई एकाएक टमाटरको भाउ चुलिएको देख्दा पत्याउनै मुस्किल परि रहेको थियो । तुलसीपुर बजारमा टमाटरको फूटकर मूल्य केजीमा दुइ सयसम्म पुगेको छ ।
असार सुरु हुनुभन्दा पहिले एक सय रुपैंयामा पाँचदेखि आठ केजीसम्म टमाटर किन्न पाइन्थ्यो । टमाटरको भाउ एकाएक किन बढ्यो ? अधिकाँस थोक ब्यापारी अनुकुल मौसमलाई मान्ने गर्छन । अर्कौ तर्फ नेपालबाट छिमेकी देश भारतमा टमाटर निर्यात हुनुले पनि टमाटरको भाउ अचाक्कली बढेको उनीहरु ठान्छन् ।
तुलसीपुर तरकारी तथा फलफूल ब्यबसायी संघका अध्यक्ष माधवप्रशाद घिमिरेले भारतका ब्यापारी आएर टमाटर सोझै उतै लैजान थालेपछि दाङमा टमाटरको अभाव हुन गइ मूल्य ह्वात्तै बढेको बताउँछन् ।
तुलसीपुरमा मात्रै दैनिक तीन सय क्यारेट जति टमाटर खपत हुने गरेपनि मूल्य बढेपछि उपभोक्ताले थोरै मात्रै किन्न थालेको घिमिरेले अनुभव साटे । मूल्य अचाक्कली बढेपछि उपभोक्ताले खरिद घटाएका छन् ।
टमाटर बाहेक अन्य सबै तरकारीको भाउ भने पहिले जस्तै छ । तुलसीपुर सब्जि मण्डीमा टमाटर हिजो आज केजीको एक सय ८० मा बिक्री भइ रहेको छ भने बजारमा फुटकर दुइ सय रुपैंयामा कारोबार भइ रहेको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसेले दुई दिन अगाडि आँफु भारतको नानपारा पुग्दा नेपालबाट टमाटर आएको भन्ने कुरा स्थानीय ब्यापारीबाट सुनेको हुँदा भारत निर्यात भएकै कारण टमाटर बढेको भएपनि त्यो रोक्न प्रयास गरिने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र इलाका प्रहरी कार्यालय तुलसपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल लगाएत संग यो बिषयमा कुरा गरेर बाहिर टमाटर पठाउने कुरा बन्द गर्नका लागि पहल गर्ने अध्यक्ष चालिसेले बताएपनि त्यो सहज भने देखिदैन ।
किनभने किसानले जस्ले राम्रो मूल्य दिन्छ उसैलाई उत्पादन बेच्ने गर्छन । अर्कौ तर्फ दाङको तुलसीपुरमा बर्षौंदेखि तरकारी तथा फलफूलको ब्यापार गरि रहेका मधेसी समुदायका थुप्रै ब्यापारीको प्रत्यक्ष सम्पर्क र सम्बन्ध तरकारी उत्पादन गर्ने किसान संग रहनुपनि हो ।
दाङको तुलसीपुरदेखि सल्यान प्रबेश गर्ने प्रमुख प्रबेशद्धार कपुरकोट हो । कपुरकोटमै मंगलबार केजीको एक सय ४० देखि एक सय ५५ रुपैंयासम्म टमाटर त्यहाँका किसानले बेचेका थिए । कपुरकोटमा हाट बजार संचालन हुन लागे यताकै यो हालसम्मकै उच्च मूल्य स्थानीय किसानले पाएका थिए ।
राप्ती राजमार्ग हुँदै कपुरकोट हाट बजारबाट तरकारी तुलसीपुर हुँदै अमेलिया र पूर्वपश्चिम राजमार्ग हुँदै बाँकेस्थित जमुनाहा नाका हुँदै भारतको रुपैडिया तरकारी निर्यात हुने गरेको छ ।