२०८३ भाद्र १२ गते शुक्रवार

घोराहीले आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने

घोराही,साउन १८ । दाङको घोराही उपमहानगरपालिकाले यस वर्ष पनि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।

घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०र८१ मा आँखाको निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेको हो ।

विगत छ वर्षदेखि उज्यालो अभियानअन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालसँग सम्झौता भई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको थियो ।

यस वर्ष पनि एक सय २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता भएको राप्ती आँखा अस्पतालले जनाएको छ ।

साझेदारी कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले एसआईसीएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गर्ने अस्पताललाई प्रतिव्यक्ति आठ हजार रुपैयाँ उपलब्ध गराउने छ ।

त्यस्तै सेवा प्रदायकले मोतियाबिन्दुको फेको प्रविधिबाट शल्यक्रिया गराउनुपरेमा भने उपमहानगरले थप पाँच हजार रुपैयाँ दिने सम्झौतमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५र७६ देखि शुरु भएको साझेदारी कार्यक्रमअन्तर्गत अहिलेसम्म उपमहानगरले चार सय ९७ जनामा देखिएको मोतियाबिन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।

यस आर्थिक वर्षमा उपमहानगरले २० लाख रुपैयाँ छुट्याएको छ । यस्तै उपमहानगरले पहिलो चरणमा एक सय २५ जनाको शल्यक्रियाका लागि सम्झौता गरे पनि आवश्यक परे थप सहयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *