तुलसीपुर,साउन १७ । तुलसीपुर–६ रजौरा निवासी ३९ वर्षीय कल्पना शर्माले तुलसीपुरमा कटाइ सिलाइ सम्बन्धि प्रशिक्षण दिन थालेको १६ बर्ष भइसकेको छ ।
यो अबधिमा उनले सयौं दिदी बहिनीलाई सीप सिकाएकी छन् । कल्पनाबाट सीप सिकेका कयौं आज कटाइ सिलाइ ब्यबसायमा राम्रो गरि रहेका छन् ।
सानैदेखिको रुचीको पेशामा हात हालेकी कल्पना हात खुट्टा चल्दासम्म प्रशिक्षणमै बिताउने अठोट गर्छिन । उनले २०६२ सालमा पहिलो पटक मानपुरमा सीप विकास र घरेलुले संयुक्त रुपमा सञ्चालन गरेको ६ महिने कटाइ सिलाइ तालिम लिएकी थिइन ।
जुन बेला कल्पना एसएसी दिएर बसेकी थिइन । एसएलसीमा एउटा विषय लाग्यो । त्यतिखेर पुरक परिक्षा दिन एक वर्ष कुर्नु पथ्र्यो । कल्पनाले भनिन्,‘ त्यही खाली समयलाई सदुपयोग गर्दै कटाई सिलाई तालिममा सहभागी भएकी थिए ।’ उक्त तालिममा सहभागी ५३ जना मध्ये कल्पना प्रथम भइन । कल्पनालाइ अझ धेरै सिप सिक्न मन थियो ।
ठिक त्यही समयमा तुलसीपुरमा रेयूकाइ संस्थाले तीन महिने तालिम खोलेको थियो । त्यसमा पनि उनी सबैलाई उछिन्दै प्रथम भइन ।
प्रमाणपत्रसहित नगदबाट पुरस्कृत हुँदा थप हौसला बढ्यो । केही समय प्रशिक्षकको रुपमा सोही संस्थामा काम गरिन । पछि विभिन्न संस्थाहरुमा पनि तालिम दिइन । अब आँफै गर्न सक्छु भन्ने आत्म बिश्वास भयो । आफ्नै प्रशिक्षण केन्द्र खोल्ने सोचिन ।
तुलसीपुरको ‘ग’ लाइनमा ‘कामना कटाइ सिलाइ ट्रनिङ सेन्टर’ खोलिन । त्यो खोल्दा आवश्यक पर्ने मेसिन खरिद गर्न कल्पनाले आमासंग ४० हजार सहयोग मागिन । बीरगञ्जबाट १५ वटा हाते मेसिन किनेर ल्याइन । २०६४ सालबाट ट्रनिङ सेन्टर धकाधक सुरु भयो ।
‘सीप सिकौ,आत्मनिर्भर बनौं’ भन्ने नारा बोर्डमै लेख्न लाइन । सुरुमा कुनैपनि काममा कठिनाइ हुन्छ । कल्पनाले पनि त्यो भोगिन । महिलाले पनि कपडा सिलाउ छन र रु भनेर मान्छेहरु धेरै कुरा गर्थे । कल्पनाले त्यस्तालाई वास्ता गरिनन् । आफ्नो पेशा प्रति कहिल्यै हिन्ता बोध भएन ।
प्रशिक्षण केन्द्र सुरु भएको तीन वर्ष पछि कल्पनाको मागी बिवाह भयो । घर परिवार बाट पनि साथ सर्मथन र सहयोग मिल्यो । ‘श्रीमान राजनीति र विभिन्न सामाजिक संघ सस्थामा सक्रिय हुनुहुन्छ,,’ कल्पनाले भनिन् ‘घरपरिवारमा पनि सबैजना शिक्षित र आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच भएको हुनाले मलाइ प्रशिक्षण केन्द्रमा जन्म सहज भयो ।’
कल्पनाको दैनिकी १६ वर्षदेखि सोही ट्रनिङ सेन्टरमै बित्दै आएको छ । सुरुमा जहाँ कोठा भाडामा लिइन अहिले पनि सोही ठाउँमा प्रशिक्षण केन्द्र चलिरहेकै छ ।
हालसम्म १५ हजार बढी महिलालाई प्रशिक्षण दिएर आत्मनिर्भर बनाइ सकेको उनको दाबी छ । आफुले सीप सिकाएका धेरै बेरोजगार महिलाहरु त्यही व्यवसाय सञ्चालन गरि सफल जीवन यापन गरेको देख्दा खुसी लाग्ने गरेको उनले बताइन ।
हाल उनको ट्रनिङ् सेन्टरमा अहिले दैनिक २४ जना महिला कटाइ सिलाइ सिकिरहेका छन । ६ महिना सिकाए बाफत प्रतिव्यक्ति १० हजार शुल्क लिन्छिन । ‘ म मेरो काम प्रति पूर्ण बफादार र सन्तुष्ट छु,’ उनले भनिन् ‘आफ्नो आवश्यकताहरु परिपूर्ति गर्न,घर खर्च चलाउन कसैसगं हात जोड्नु पर्दैन ।’
मासिक रुपमा ५० देखि ८०÷९० हजारसम्म आम्दानी गर्दै आएको बताइन । आफ्नै कमाईबाट ६÷७ वर्ष पहिले तुलसीपुर ६ रजौरामा १३ लाखमा घडेरी किनेको र ४ वर्ष पहिले सोही ठाउँमा साढे दुइ तले घर बनाइएको उनले जानकारी दिइन । बरुवा गाउँमा पनि अर्कौ एउटा घडेरी किनेकी छन् ।
यसमा उनका श्रीमान धुर्व आचार्यले पनि सघाएका छन् । त्यसै घरमा बसेर समय खेर फाल्नु भन्दा आँफुलाई मन पर्ने कुनैपनि सीप सिक्ने र पेशा ब्यबसाय गर्न उनले सबैमा आग्रह गरिन ।
‘सीप भएको मानिस जहाँ गएपनि उभिन सक्छ,’ उनले भनिन् ‘ सीप भए कमाइ हुन्छ र कमाइ भए घर परिवार र समाजमा मान प्रतिष्ठा बढ्ने गर्छ ।’
