सल्यान, साउन १६ । सल्यानका किसानले हाल सम्मकै उच्च मुल्यमा आफुले उत्पादन गरेको टमाटर बिक्रि गरेका छन् ।
बेमौसमी तरकारी खेती हुने कपुरकोट क्षेत्रका किसानले मंगलबार टमाटर बिक्रि गर्दा किलोको एक सय ४० रुपैंयामा बिक्री गरेका हुन ।
यो हाल सम्मकै उच्च मूल्य रहेको किसानले बताएका छन् । मंगलबारको तरकारी हाट बजारमा एकै दिन ६० लाख ४८ हजार ९४८ रुपैंया बराबरको ताजा तरकारी र फलफूल कपुरकोटबाट विक्र्री भएको छ । कृषि उपज बजार केन्द्रका अनुसार ६८ हजार दुइ सय ८९ किलो कृषि जन्य वस्तु एकै दिन बिक्रि भएको हो ।
जसमध्य ४३ लाख बढी रकम टमाटर विक्रीबाट मात्रै आम्दानी भएको छ । ३१ हजार तीन सय किलो टमाटर विक्र्री बाट ४३ लाख तीन हजार सात सय ५० रुपैंया, चार हजार पाँच सय ६५ किलो काउली विक्र्रीबाट एक लाख ९४ हजार १२ रुपैंया, तीन हजार आठ सय ९५ किलो भेडे खुर्सानी विक्र्रीबाट तीन लाख एक हजार आठ सय ६५ रुपैंया र ११ हजार सात सय किलो बन्दा विक्र्रीबाट दूइ लाख चार हजार सात सय ५० रुपैंया किसानले कमाएका छन् ।
मिहेनत गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य पाएकोमा किसान हर्षित देखिन्थे । करिव दुइ क्विन्टल टमाटर बिक्र्री गरेकी कपुरकोट – ३ निबासी रामकली बिकले यसैगरि सदैव राम्रो मूल्य पाएमा किसानको मिहेनत सार्थक हुने बताइन् ।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार मंगलबारको तरकारी बजारमा टमाटर प्रतिकिलो एक सय ३५ देखि एक सय ४० सम्म, पुरानो अदुवा एक सय ४० देखि एक सय ५० मा किनबेच भएको हो ।
त्यस्तै अकबरे खुर्सानी एक सयदेखि एक सय पाँच , भेडे खुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दा गोभी १० देखि १५ रुपैया प्रतिकिलो बिक्र्री भएको बजार केन्द्रका बजार प्रतिनिधि चन्द्रमणी खड्काले जानकारी दिए । सिमी ४५ देखि ५० रुपैंया प्रतिकिलो बिक्रि गरेका किसानले लोकल कांक्रा ५० देखि ५५ र उन्नत जानतको कांक्रा १० देखि १२ रुपैयाँ प्रतिकिलो बिक्रि भएको छ ।
बर्षौंदेखि कपुरकोट गाउँपालिका भित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदै आएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, कैलाली लगाएतका शहर बजारमा जाने गरेको छ ।
कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्छ । अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका ६ वटै वडामा रहेका तरकारी शंकलन केन्द्रमा किसानले आफ्नो उत्पादन बिक्रि गर्ने गर्दछन् ।