घोराही, साउन १५ । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङ घोराहीले रक्तदानको श्रृङ्खला सुरु गरेको छ । हरेक महिनाको १५ गते क्लवको पहलमा सामुहिक रक्तदान कार्यक्रम आयोजना गर्ने गरी श्रृङ्खला थालिएको छ ।
क्लवका अध्यक्ष शरद अधिकारीको अध्यक्षतमा भएको रक्तदान कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका थिए ।
मेयर चौधरीले रगतको अभावका कारणले कोही पनि समस्यामा नपरुन भनेर लायन्स क्लवले थालेको अभियानमा सवैको साथ रहनुपर्ने बताए । उपमहानगरपालिकाले विरामीलाई आवश्यक पर्ने रगत निशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरेको भन्दै रक्तदानलाई अभियानका रुपमा अघि बढाएर रगतको अभाव पूर्ति गर्न जरुरी रहेको उनले बताए ।
नेपाल रेडक्रश सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दले रक्तदान सवैभन्दा ठूलो दान भएको तर्क गरे ।
दाङले घोराही, तुलसीपुर र लमहीमा रक्त सञ्चार केन्द्र संचालन गरेर विरामीलाई सेवा दिइरहेको उनले बताए ।
रगतलाई बर्गिकरण गरेर विभिन्न तत्व बेग्ला बेग्लै दिन सकिने भन्दै त्यस्तो मेसिन घोराहीमा एउटा मात्रै रहेकाले अव मेसिनको संख्या थप्न आवश्यक रहेको उनले चर्चा गरेका थिए ।
लायन्स क्लव इन्टरनेशनल ३२५ एन, एरिया नं. २ का चिफ डा. भिमसेन गिरीले लायन्सले भोकको विरुद्ध, आँखाको दृष्टिका लागि, वातावरणको क्षेत्रमा र रगत आपूर्ति लगायतका विभिन्न सुवा मुलक क्षेत्रमा काम गरिरहेको जानकारी दिएका थिए ।
रक्त संचार केन्द्रका इञ्चार्ज दिलिप पौडेलले रक्तदान गर्न सक्ने अवस्था, गर्न नसक्ने अवस्था, रगतको महत्व लगायतका विषयमा चर्चा गरेका थिए ।
लायन्स क्लव राप्ती इञ्जिनियरिङको आयोजना र लियो क्लवको सहयोगमा आयोजना गरिएको कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रम संयोजक कर्ण पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण द्वितिय उपाध्यक्ष धनेश्वर चौधरीले गरेका थिए ।