बुटवल, साउन १५ । रुपन्देहीको बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन गरिएको छ ।
लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले भवनको उद्घाटन गरेका हुन ।
ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित प्रयोगशाला भवन सोमबार नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । आठ करोड ७० लाख २० हजार लागतमा भवन निर्माण भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले प्रदेशको केन्द्रिय प्रयोग शालाको रुपमा यस्लाई विकास गर्नुपर्ने बताए ।
आधुनीक उपकरण र दक्षजन शक्ति राखेर नागरिकको विश्वास जित्ने गरि काम गर्न प्रयोग शालाका कर्मचारीलाई निर्देशन दिदै मुख्यमन्त्री चौधरीले प्रदेशको रिर्सोस सेन्टरको रुपमा प्रयोगशलालाई विकास गर्न आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधनगर्दै स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण र गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताए । मन्त्री खनालले प्रदेशमा रहेका सरकारी तथा निजी प्रयोग शालाहरुलाई सँगठित र सञ्जालिकरण गरि त्यसलाई अनुगमण र गुणस्तर नियन्त्रणको केन्द्रको रुपमा विकास गरिने बताए ।
स्वास्थ्य मन्त्री खनालले स्तरिय प्रयोगशालाको अभावमा गाउँबाट शहर र शहरबाट अन्य प्रदेशमा बारम्बार धाई रहनु पर्ने बाध्यतालाई चिर्न नव निर्मित प्रयोगशाला भवनलाई एकिकृत र सहज परिक्षण केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।
समग्र स्वास्थ्य प्रणालीको सुदृढिकरणका लागि प्रदेश प्रयोग शाला र त्यस्को सञ्जाल कोशे ढुँगा सावित हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका नेपाल र भुटान कन्ट्री डाइरेक्टर हेथर क्याम्पबेल, ग्लोबल फण्ड जेनेभाका सिनियर पोर्टफोलियो म्यानेजर स्टेफन स्टोजनोभिक , ग्लोबल फण्डका हेल्थ प्रोडक्ट म्यानेजमेण्ट स्पेसिष्टि डभिड बगोँजा लगायतले भवनको समुचित प्रयोगले प्रदेशका गाउँ बस्तिका मानिसको स्वास्थ्य सेवामा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेका थिए ।