काठमाडौं,साउन १५ । नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् ।
आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिवसका रूपमा मनाउने निणर्य गरेको छ ।
साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निणर्य गरेको हो । नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ ।
असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।
चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकार खीरबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ ।
डेरी व्यवसायीका अनुसार साउन १५ मा अन्य दिनको तुलनामा ४/५ गुणा बढी दुधको कारोबार हुने गरेको छ । आज दुधको माग बढी हुँदा अभाव हुने गरेको छ ।