तुलसीपुर, साउन ९ । दाङको देउखुरी क्षेत्रमा अबिरल बर्षाका कारण डेढ दर्जन बढी घर डुवानमा परेका छन् ।
पहिरोका कारण हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाको राजपुर गाउँपालिकामा एक जर्दन र लमही नगरपालिकामा थप आधा दर्जन घरहरु डुवानमा परेका छन् ।
राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका – ५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुवानमा परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
राजपुर– २ की ३२ बर्षीया पुष्पा नेपालीको एक तले फुसले छाएको कच्ची घर अबिरल बर्षाका कारण बिहान १० बजेतिर भत्किएको छ । लमही नगरपालिका – १ सुनडबरी र वडा नं. ३ को कान्तिपुरमा चार स्थानीयको घर डुवानमा परेको छ ।
सुनडबरीका ७० बर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उनको दुइ जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थान्तरण गरिएको छ । कान्तिपुरका ३६ बर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उनीहरु छतमा बसेको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ ।

स्थानीय ४० बर्षीय सुशिल कुमाल र ६० बर्षीय दयाराम चौधरीको दुइ तले कच्ची घरमा पानी पसेपनि उनीहरुको परिवार डुवना हुनु थालेपछि निस्किएर सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । डुवानमा परेका ब्यक्तिहरुको उद्धारको लागि यहाँ दश जनाको प्रहरी टोली खटिएको छ ।
त्यस्तै रातिदेखिको अबिरल बर्षापछि ठाउँ ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड अवरुद्ध भएको छ । बाढी आइ ठाउँ ठाउँमा हिलो माटो खसेको हुँदा सडक खण्ड अवरुद्ध भएको हो ।