२०८१ बैशाख २२ गते शनिवार

डेंगु रोगको उच्च जोखिममा नेपालगञ्ज

नेपालगञ्ज, साउन ४ । भारतसँग सीमा जोडिएको पश्चिम नेपालको केन्द्रबिन्दु मानिने नेपालगन्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा रहेको छ ।

भारतका विभिन्न सहरमा डेंगुका बिरामी बढ्दैगएको हुँदा भारतबाट नेपाल फर्कनेसँगै डेंगु पनि भित्रिने आशङ्का बढेकाले यो सहर रोगको उच्च जोखिममा पुगेको हो ।

भारतलगायत नेपालकै विभिन्न जिल्लामा डेंगुका बिरामी देखिन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले उक्त रोगविरुद्धको सचेतना अभियान सञ्चालन गरेको उपमहानगरका उपमेयर कमरुद्दीन राईले बताए ।

उनले डेंगु भित्रिन नदिन तथा नियन्त्रणका लागि तत्काल विभिन्न कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको बताए ।

नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाले मलेरिया र डेंगु फैलिन सक्ने सम्भावना रहेकाले नेपाल–भारत नाकामा ज्वरोका बिरामी भेटिएमा परीक्षण गरेर मात्र भित्रिन दिइएको जनाउँदै उपमहानगरमा सचेतनामूलक अभियान पनि चलाइएको जनाएको छ ।

उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म कसैलाई पनि डेंगु पुष्टि नभएको जनाउँदै तर सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको बताए ।

उनले एक जनामा मलेरिया देखिएकाले नेपाल–भारत नाकालगायत उपमहानगरका विभिन्न स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको मलेरिया र डेंगी परीक्षण गर्न थालिएको बताए ।

प्रमुख चन्दले सो रोगको लक्षण र प्रभाव पारे सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि भइरहेको बताए ।

उता, स्वास्थ्य कार्यालय बाँकेले पनि डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियान सुरु गरिएको जनाएको छ । सो कार्यालयले जिल्लाका उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाइएको जनाएको छ ।

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा.राजन पाण्डेले डेंगुको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्नुपर्ने र सचेतना अभियानलाई तीव्र पार्ने बताए ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *