घोराही,साउन २ । घोराही उपमहानगरपालिकाले स्थानीय उत्पादनहरूको प्रवर्द्धनका लागि घोराही उपमहानगरपालिका ५ पाण्डेश्वर मन्दिर धारापानीमा कोसेली घरको निर्माण गरेको छ ।
घोराहीमा उत्पादन हुने र पहिचान दिने वस्तुहरूको संकलन र बिक्रीका लागि बनाइएको कोसेली घरमा नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन् ।
सटर सहितको एक कोठा र महिला पुरुषका लागि दुईवटा शौचालय पनि निर्माण गरिएको छ ।
पाण्डेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षता भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुँमा कुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, प्रेस संयोजक निमुसंगम घर्ती सहित मन्दिरका पदाधिकारी र स्थानीयहरूको उपस्थितमा उद्घाटन र मन्दिरलाई सो भवन हस्तान्तरण घोषणा गरिएको हो ।
मन्दिरमा पूजा गर्न आउने र घुम्न आउनेहरूलाई लक्षित गरेर धारापानीमा उक्त कोसेली घर बनाइएको हो ।
अब यहाँका स्थानीय उत्पादित वस्तुहरूको बजारीकरणमा टेवा पुग्ने आशा गरिएको छ ।
नगरले उक्त भवन मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरे पनि त्यसको सञ्चालन र व्यवस्थापनका लागि कार्यविधि बनाएर सञ्चालनमा ल्याउने नगर प्रमुख चौधरीले बताए ।
कार्यक्रमको सहजिकरण मन्दिर व्यवस्थापन समितिका सचिव विष्णु राम आचार्यले गरेका थिए ।
