२०८२ माघ १ गते बिहिवार

सहजै नुन नपाएको भन्दै डिपो तोडफोड

जुम्ला,साउन १ । जुम्लामा नुन सहजै नपाएको भन्दै सेवाग्राहीले डिपो तोडफोड गरेका छन्। स्थानीयले अहिले पनि नुन वितरणमा सहज नभएको भन्दै लाइनमा लागेका व्यक्तिले डिपोमा ढुंगामुढा गर्दै तोडफोड गरेका हुन्।

नेपाल साल्ट ट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले ढुंगामुढा भएको जानकारी दिए। साउने संक्रान्तिको बेला नुन लिन आएका सेवाग्राहीले नुन सहज रूपमा नपाउँदा आक्रोश पोखेको स्थानीयले बताएका छन्।

उनीहरूले सरकारले नागरिकलाई नुनसमेत राम्रोसँग दिन नसकिरहेको आरोप लगाउँदै आएका छन्। नुन वितरण भइरहेकै बेला तोडफोड भएको हो। नुनको कमीका कारण यसभन्दा पहिले हरेक लाइनमा लागेका व्यक्तिलाई तीन प्याकेट दिने गरिएको थियो तर यस पटक नुन थपिएपछि लाइनमा लागेका प्रतिव्यक्ति पाँच प्याकेट वितरण गरिएको हो।

नुन बाँडिरहेका बेला अपुग भएको भन्दै आन्दोलन भएको होे। अब नुन वितरण प्रणाली वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाइने डिपोले जनाएको छ। गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले अभाव नभएको हो।

जुम्लाको सिञ्जा क्षेत्रमा कार्यालय स्थापना गरी लामो समयदेखि नुन वितरण भएको कार्यालयले जानकारी दिएको छ। ०७९।८० मा विभिन्न समयमा नुनका लागि भीड बढेको भन्दै पटक–पटक स्थानीय तहमा नुन वितरण प्रणाली सुरु गर्न पहल भइरहे पनि सरोकारवाला पक्षले चासो भने नदिएको सेवाग्राहीले बताएका छन्।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *