२०८२ पुष ३० गते बुधवार

नेपालगन्ज उपमहानगरपालिकाले सुरु ग¥यो निःशुल्क एम्बुलेन्स सेवा

नेपालगन्ज ,साउन १ । नेपालगन्ज उपमहानगरपालिकाले चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पुर्‍याउन आजदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।

बिरामीहरूको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

“अस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुख दुःखमा सँगसँगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,” उनले भने–”चौबिसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स स्ट्याण्डबाई रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पुर्‍याउने व्यवस्था गरेका छौँ ।”

उपप्रमुख कमरुद्दिन राईले आकस्मिक बिरामीहरूको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताए ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निस्शुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताए ।

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले लुम्बिनी प्रदेशमै बाँकेमा उच्च रहेको मातृ शिशु मृत्युदर घटाउन एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

हाल नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र ३ वटा एम्बुलेन्स स्ट्याण्डबाई रहनेछन् । नेपालगन्जमा २० वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *