घोराही,साउन १ । दाङमा साउन १ गतेदेखि ट्राफिक जरीवाना वापतको राजश्व संकलन अनलाइन प्रणालीबाट हुने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार पत्रकारसँग भेटघाट कार्यक्रम गर्दै ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने सवारीका चालक तथा धनिहरुलाई ट्राफिक जरीवाना वापतको राजश्व संकलन अनलाइन प्रणालीबाट भुक्तानी गरिने जानकारी दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले साउन १ गतेदेखि लागू हुने ट्राफिक भ्याइलेन्ट रेकर्ड सिस्टम (टिभिआरएस) सफ्टवेयर माध्यमबाट ट्राफिक जरीवाना बैंकिङ प्रणालीबाट भुक्तानी लिने जानकारी दिएको छ ।
साउन १ गतेदेखि सवारी नियम उल्लंघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक प्रहरीद्वारा जारी गरेको २४ घण्टे पुर्जी दिइने र ट्राफिक जरीवाना बुझाउँदा उक्त २४ घण्टे पुर्जी साथ लिई नजिकको राष्ट्रिय वाणिज्य बैंक तथा इसेवा, खल्ती कनेक्ट आइपिएस, मोबाइल बैकिङबाट भुक्तानी गर्न सकिने जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक किरण मल्लले जानकारी दिए ।
ट्राफिक जरीवानामा परेका सवारी चालक तथा धनिहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट लमही गरी जिल्लाको तीन ठाउँ मध्य एक ठाउँमा ट्राफिक जरीवाना भुक्तानी गरेको प्रतिलिपि बुझाउन सक्नेछन् ।