बाँके,असार ३१ । दुई फरक–फरक दुर्घटनामा परी बाँकेमा दुई जनाको मृत्यु भएको छ। गएराती कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्जका सुभास शाहीको मृत्यु भएको हो।
भे ७ प ७११६ नम्बरको मोटरसाइकलमा रहेका शाही कोहलपुर–११ स्थित बजारमा दुर्घटनामा परेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका शाहीको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकादोका शाही मोटरसाइकल अनियन्त्रित भएर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।
यस्तै, बाँकेकै ठाउँको सिक्टा नहरमा डुबेर २३ वर्षीया लक्ष्मी बस्नेतको मृत्यु भएको छ। बैजनाथ गाउँपालिका( ३ मा रोपाई सकेर नुहाउने क्रममा बस्नेत नहरमा डुबेकी थिइन्।
तत्काल नै उद्दार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्याएपनि उनको मृत्यु भएको थियो। रोपाई सकेपछि तीन जना नहरमा नुहाउन गएका थिए।