दाङ,असार २९ नेपालगन्जको सीमा नाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको नेपालगन्ज भन्सारस्थित जमुनाह बिओपीबाट खटिएको टोलीले नेपालगन्ज-१५ जमुनाहको शर्मा गल्लीबाट नेपालगन्ज-१६ जयसपुरका २० वर्षीय सोहेल कुरेशीलाई नेपाली २० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
चेकजाँचमा खटिएको सशस्त्र प्रहरीको टोलीले बिहिवार भारतको छिमेकी बजार रुपइडिहाबाट मोटरसाइकलको पछाडि बसेर नेपालगन्जतर्फ आउँदै गरेका कुरेशीलाई चेकजाँच गर्ने २० लाख नेपालीसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार मोटरसाइकल चालक भने मोटरसाइकलसहित भारततर्फ फरार भएका छन् ।
सशस्त्र प्रहरीले श्रोत नखुलेको २० लाख रुपैयाँसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार पठाएको जनाएको छ ।