तुलसीपुर,असार २७ । तुलसीपुर उपमहानगरपालिकाले प्राथमिक तहको शैक्षिक सुधारका लागि विद्यालयमा कार्यरत शिक्षक/शिक्षिकाहरुलाई सूचना प्रविधि सम्बन्धित सीप प्रदान गरेको थियो ।
शिक्षक/शिक्षिकाहरुलाई सीप सिकाएसँगै आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्घि गर्नका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण र ती सामग्री उपयोगमा ल्याउनका लागि सीप समेत प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए ।
नगरप्रमुख खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री ढंगले पठनपाठनका लागि पहिलो प्राथमिकतामा राखेर प्राथमिक तहदेखि नै सुरुवात गरिएको बताए ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १४ वटा प्राथमिक विद्यालयहरुलाई ल्यापटप,प्रिन्टर हस्तान्तरण गरेको छ ।
शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले विद्यार्थीहरुको सिकाई उपलब्धि हासिल गर्नका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण गरिएको बताए ।
उनले सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ६ वटा प्राथमिक विद्यालयलाई स्मार्ट एलइडि टिभी हस्तान्तरण गरिएको बताए ।
उनले शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नै १२ वटा विद्यालयमा स्वच्छ खानेपानी व्यवस्था गरिएको छ भने चार वटा विद्यालयमा बाल उद्यान सञ्चालनमा ल्याइएको बताए ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालय कालाखोलामा गणित बाटिका समेत निर्माण गरिएको छ ।
तुलसीपुर १८मा रहेको शुभकोटी प्राथमिक विद्यालयका प्रधानाध्यापक झुमाकुमारी वलीले सूचना प्रविधि सामग्री सीप र सामग्री हस्तान्तरणसँगै विद्यार्थीहरुको शिक्षण सिकाईमा सहज हुने बताए ।