निरला अर्याल , तुलसीपुर, असार २६ । राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरको परिसर भित्र जंगली जनावर घाइते अबस्थामा फेला परेको छ ।
अस्पतालको ओपीडी कक्ष नजिकै मगंलबार दिउँसो घाइते अवस्थामा रतुवा (राते) फेला परेको हो ।
विहान करिव ८ बजेको समयमा सरसफाई गर्ने बेला सुतिरहेको अवस्थामा घाइते रतुवा भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष सुवेदीले जानकारी दिए ।
करिब ४३ इन्च लम्बाई र उचाई १२ इन्च रहेको रतुवाकोको मुख, गर्धन, आँखा र शरीरको अन्य भागमा चोट लागेको छ । अस्पताल परिसर भित्र रतुवा फेला परेपछि सब डिभिजन वन कार्यालय तुलसीपुरलाई सम्पर्क गरि घाइते रतुवा बुझाइएको अस्पतालका निमित्त प्रशासक सालिकराम गौतमले जानकारी दिए ।
घाँटीको घाउ हेर्दा कुकुर वा अन्य वन्यजन्तुको आक्रमणमा उक्त रतुवा परेको हुन सक्ने तुलसीपुर सब डिभिजन वन कार्यालयका वन रक्षक बहादुर रेउलेलले अनुमान गरे ।
घाइते रतुवालाई उपचार पछि सुरक्षित ठाउँमा लगेर प्राकृतिक वाशस्थानमा छोडिने रेन्जर सर्जन वलीले बताए ।
अस्पताल क्षेत्र सुरक्षीत देखेर घाइते राते सुरक्षाको लागि आसपासको परिशरमा प्रबेश गरेको हुन सक्ने अनुमान गरिएको छ ।
