दाङ, असार २६ । दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका–६ रिभान गाउँका किसानको एक सय ६० रोपनी खेत सिमेन्ट उद्योगको लापरवाहीका कारण बगरमा परिणत भएको छ ।
जिल्लास्थित घोराही सिमेन्ट उद्योग र लमहीको सम्राट सिमेन्ट उद्योगले चुन ढुङ्गा उत्खनन् गर्न सञ्चालन गरेका खानीबाट जथाभावी खोलामा ढुङ्गा खसाल्दा किसानका धान झुल्ने खेतहरु बगरमा परिणत भएका छन् ।
वर्षौंदेखि खेती गर्दै आएको पानीखेत भन्ने ठाउँको खेत गत वर्षको असोज महिनामा दाङबाङ खोलामा आएको बाढीले कटान गर्नुका साथै पहिरो खसेर पुरिएपछि स्थानीय धान खेती गर्नबाट बञ्चित भएको बताउँछन् ।
खोलाले बगाएर ल्याएका ढुङ्गाले खेतीयोग्य जमिन नै पुरिएपछि वर्षौंदेखि धान खेती हुँदै आएको जमिन यस वर्ष बाँझै पल्टिएको बंगलाचुली गाउँपालिका – ६ रिभान गाउँका किसान खिमप्रसाद महराले जानकारी दिए । ‘असार महिना सकिनै लाग्दा अघिल्ला बर्षहरुमा यतिखेर हामीलाई धान रोप्न भ्याइ नभ्याइ हुन्थ्यो,’ महराले भने ‘ यो बर्ष मेरो नौं रोपनी खेत त्यसै बाँझै पल्टिएको छ।’
महराका अनुसार दाङबाङ खोलाको छेउ छाउमा ३÷४ पुस्तादेखि खेती हुँदै आएको थियो ।‘यसअघि सम्म दाङबाङ खोलाले हाम्रो पानीखेत कहिलै क्षति पु¥याएको थिएन,’ महराले भने, ‘सिमेन्ट उद्योगले चुनढुङ्गा निकाल्ने क्रममा खसालेका ढुङ्गाका कारण खोला थुनिएर हाम्रो खेत सबै बगरमा परिणत भएको हो ।’

सिमेन्ट उद्योगले सञ्चालन गरेको चुन ढुंङ्गा खानीबाट खोलामा जथाभाबी खसालिएका ढुङ्गाकै कारण खोलाको धार परिवर्तन भएको र खेतीयोग्य जमिनमा पूरै खोला बगेर बगरमा परिणत भएको उनले जानकारी दिए । सिमेन्ट खानीको लापरवाहीका कारण खेती योग्य जमिनमा खोलाले ढुङ्गा हालेको भन्दै गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएपनि कुनै सुनुवाइ नभएको महराले गुनासो गरे ।
‘ त्यो हाम्रो वर्षभरि खान पुग्ने धान उत्पादन हुने खेत हो, तर बगर बनेपछि यो वष खेती गर्न सकिएन ,’ उनले भने, ‘अहिले धान रोपेर हरियाली हुने खेतमा ढुङ्गै ढुङ्गा मात्रै भरिएकोे छ ।’ नौं रोपनी जग्गामा धान खेती गरेर दश जनाको परिवार पाल्ने गरेका महराले यो वर्षदेखि चामल किनेर परिवार पाल्नु पर्ने बाध्यता आइ लागेको भन्दै चिन्ता जाहेर गरे ।
रिभान गाउँकै हिमलाल वलीको पनि १४ रोपनी खेत ढुङ्गा र माटोले पुरिए पछि उनीपनि निराश छन् । आँकाश बाट झमझम पानी बर्षिदा खेतमा काम गरि रहेको अघिल्ला बर्षहरको यादले सताउने गरेको बताए । ‘मन बहलाउन खेतमा पुग्ने गर्छु,’ उनले भने ‘ ढुँगै ढुँगा देखेर मन रुन्छ अनि फर्किन्छु।’
वर्षामा धानसँगै हिउँदमा गहुँ, मसुरोलगायतका कृषि बाली उत्पादन हुने पानीखेत ढुङ्गाले पुरिँदा परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको उनले बताए । ‘कमाएर खानका लागि छोरा छैनन, भएकी छोरीको विवाह भइसक्यो,’ उनले प्रश्न गरे ‘बुढेसकालको सहारा त्यही खेत थियो, त्यो पनि बगरमा परिणत भएपछि अब परिवार कसरी पाल्ने रु’
रिभानकै खगुराम डाँगीपनि समेन्ट उद्योगको लापरवाहीका कारण आँफुहरुको धान, गहुँ र मसुरो फल्ने खेत बगरमा परिणत भएपछि आक्रोसित सुनिए ।
‘ हाम्रो धान झुल्ने जमिन दाङबाङ खोलामा थियो र त्यो खेत सिमेन्ट उद्योगले खसालेको ढुङ्गाका कारण अहिले बगर जस्तै बनेको छ,’ उनले भने, ‘ धान झुल्ने खेत आज उराठ लाग्दो बगरमा परिणत भएको देख्दा असार महिनामा को किसनाको मन नरोला ।’
घर परिवारलाई वर्षभरि खान पुग्ने खेत बगरमा परिणत भएपछि धान रोप्न नपाउँदा यसपटक भतमती मन पोल्न थालेको र रातमा निन्द्रासमेत लाग्न छोडेको उनले बताए । ‘उद्योगको लापरबाहीका कारण यहाँ अधिकांश स्थानीयको खेत बगर बनेको छ,’ उनले भने, ‘हामीले कुरा गर्न खोजेपनि सिमेन्ट उद्योगका प्रतिनिधिले हाम्रा कुरा सुन्नै चाहान्नन्।’
दाङबाङ खोलाले रिभान गाउँका ६० घरपरिवारको एक सय ५० रोपनी बढी जमिन खोला र पहिरोले तहस नहस पारिदिएको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले जानकारी दिए ।

सिमेन्ट उद्योगहरूले सञ्चालन गरेका खानीकै कारण खेतीयोग्य जमिनमा खोलाले ढुङ्गा र बालुवा हालेको, खोलाले जमिन कटान गरेको र पहिरो खसेर जग्गा पुरिएको भन्दै पीडित किसानले गाउँपालिकामा पनि निवेदन दिएको उनले बताए ।
न्यायिक समितिमा निवेदन परेपछि यस विषयमा उद्योगहरूलाई जानकारी गराइएको उनले जानकारी दिए । दुवै पक्षलाई राखेर समस्या समाधानका लागि प्रयासहरु गरिएपनि उत्पन्न समस्या समाधानका लागि छलफलमा आउन उद्योगका प्रतिनिधिहरुले चासो नदिएको जिसीले बताए ।
उपाध्यक्ष जिसीले दुवै पक्षलाई एक ठाउँमा राखेर समस्या समाधानका लागि पहल गरिने जानकारी दिए ।