२०८२ पुष ३० गते बुधवार

लम्पी स्किन रोगबाट दाङमा ४७७ गाई-गोरु मरे

तुलसीपुर,असार २५ । दाङमा लम्पी स्किन रोगका कारण चार सय ७७ गाई-गोरु मरेका छन्। जिल्लाभर २२ हजार छ सय ९५ गाईगोरु र भैंसी लम्पी स्किन रोगबाट बिरामी परेका छन्। दाङका १० वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको छ। संक्रमण केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको स्थानीय तहका पशु शाखाले बताएका छन्।

अहिले पनि दाङका दशवटै पालिकाका पशुमा लम्पी स्किन रोगको संक्रमण रोकिएको छैन। पछिल्लो रेकर्ड अनुसार राजपुर गाउँपालिकामा सबैभन्दा धेरै पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन्।

राजपुरमा नौ हजारमा लम्पी स्किन संक्रमण भएको पालिकाले जनाएको छ। जसमा दुई सय भैंसी छन् । राजपुरमा एक सय २० पशु संक्रमणबाट मरेका छन्। त्यसपछि घोराही उपमहानगरपालिकामा छ हजार पशु लम्पी स्किनबाट संक्रमित भएका छन्। जसमा एक सय ५० भैंसीमा संक्रमण देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका पशु शाखाका प्रमुख डा.मनोज वलीले एकीन तथ्यांक नभए पनि १२ देखि १५ सय पशु संक्रमित भएका र २५ पशु मरेको जानकारी दिए। प्रकोपको रूपमा फैलिएको नभए पनि संक्रमण भने नरोकिएको बताए।

शान्तिनगर गाउँपालिकाका पशु शाखा प्राविधिक सहायक देवराज आचार्यले झण्डै दुई हजार पशु लम्पी स्किनबाट संक्रमित भएको र १० वटा मरेको जानकारी दिए। वडा नं. १ र २ बाट शुरु भएको संक्रमण अहिले वडा नं.६ र ७ मा बढी फैलिएको आचार्यले बताए।

त्यस्तै, दंगीशरण गाउँपालिकामा एक हजार एक सय पशु लम्पी स्किनबाट बिरामी भएका छन् भने २५ वटा मरेका छन्। त्यहाँ संक्रमण अझै रोकिएको छैन। त्यस्तै, पशु प्राविधिक शेरबहादुर हमालका अनुसार राप्ती गाउँपालिकामा पनि लम्पी स्किन पूर्णरूपमा नियन्त्रणमा आएको छैन। राप्तीमा लम्पी स्किन रोगबाट आठ सय ४५ पशु संक्रमित भएका छन् भने ४९ वटा मरेका छन्।

गत फागुनदेखि संक्रमण देखिएको बंगलाचुली गाउँपालिकामा लम्पी स्किनको संक्रमण बढ्दो अवस्थामै छ। पशु स्वास्थ्य प्राविधिक माधव भट्टराईले दिएको जानकारीअनुसार असारदेखि केही मत्थर भए पनि संक्रमण बढ्दो क्रममा छ।

बंगलाचुलीमा आठ सय पशु लम्पी स्किनबाट बिरामी परेका छन् भने १८ पशु मरेका छन्। लमही नगरपालिकाका पशु शाखा प्रमुख शिवराज न्यौपानेले झण्डै सात सय पशु लम्पी स्किनबाट संक्रमित भएका र सातवटा मरेको जानकारी दिए।

लमहीको वडा नं.१ को सितलापुर, बसन्तपुर र ५ नं. वडामा रहेका केही व्यावसायिक फार्महरुमा लम्पी स्किन देखिएको छ। लमहीका ८० प्रतिशत घरधुरीमा पशु संक्रमित भएका छन्।

यसैगरी बबई गाउँपालिकामा छ सयबढी संक्रमित भएका र एक सयभन्दा बढी पशु मरेको पशु शाखा प्रमुख श्याम प्रकाश चौधरीले जानकारी दिए। गढवा गाउँपालिकामा एक सय ५० बढी पशु संक्रमित भएका र २५ वटा मरेको पशु शाखाका अधिकृत खेमबहादुर चौधरीले जानकारी दिए।

नेपाल भारत सीमा क्षेत्रमा शुरुमा फैलिएको लम्पी स्किन अहिले गढवाका सबै वडामा देखिएको छ। शुरुमा मुसी नाका र ६ नं. वडाको खबरीमा लम्पी स्किन देखिएको थियो। नियन्त्रणको लागी उपचार थालिएपनि समस्या समाधान भएको छैन।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *