काठमाडौं ,असार २४ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेस आर्चायका अनुसार पक्राउ पर्नेमा धुव्रप्रसाद अर्याल र र लोकहरि घिमिरे छन्।
अर्याल र घिमिरेलाई काठमाडौंबाट पक्राउ गरिएको हो। आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन्। घिमिरे समरजंग कम्पनीका प्रमुख थिए।
सीआइबी श्रोतका अनुसार आज पक्राउ परेका थप दुई जनासहित ललिता निवास प्रकरणमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एसएसपी आर्चायले भने, ‘ललिता निवास प्रकरणको अनुसन्धान नयाँ ढंगले सुरु भएको छ। अनुसनधानका क्रममा प्रमाण भेटिएका र संलग्न भएका जो भए पनि उन्मुक्ति दिइँदैन।’
सीआइबी श्रोतका अनुसार यस प्रकरणमा केही पूर्व सचिव, बहालवाला सचिव र पूर्वमन्त्री समेत संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ।