घोराही, असार २२ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य नहुने बताएका छन् ।
शुक्रवार दाङ जिल्ला अदालतको नवनिर्मित भवनको घोराहीमा उद्घाटन गर्दै प्रधान न्यायाधीश कार्कीले ढिला गरि न्याय दिनु भनेको न्याय नदिनु सरह हुने हुँदा समयमै न्याय दिन जरुरी रहेको बताए ।
न्याय सम्पादनमा कुनैपनि बहानावाजी नचल्ने उनले स्पष्ट पारे । न्याय सम्पादनमा हुने ढिला सुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको भन्दै उनले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका ढिलोमा छ महिना भित्र, सामान्य प्रकृतिलाई एक वर्ष भित्र र जटिल प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी सर्कुलर जारी गरिएको जानकारी दिए ।
२०७४ पुसदेखि निर्माण शुरु भएको दाङ जिल्ला अदालतको भवन २०७७ चैतमा निर्माण पुरा भएको थियो । २५ करोड १९ लाख ८८ हजार लागतमा निर्मित पाँच तले भवनमा ८७ कोठा छन् ।
दश इजलास सञ्चालन गर्ने गरी निर्माण भएको भवनमा हाल ६ इजलास मात्रसञ्चालनमा रहेका छन । दाङ जिल्ला अदालतमा मासिक चार सय बढी मुद्दा दर्ता हुने गरेका छन् ।