दाङ, असार २१ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते भएका बस धनीको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
बस साहु सल्यान छत्रेश्वरी गाउँपालिका–६ का ३७ बर्षीय महेन्द्र वलीको उपचारका क्रममा दिउँसो दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
कपुरकोटरमा प्रारम्भीक उपचार पछि उनलाई थप उपचारका लागि दाङको तुलसीपुर ल्याइएको थियो ।
घटनास्थलमै रोल्पाको गंगादेब गाउँपालिका –४ का ७० वर्षीय कालुराम डाँगी र उनका छोरा ४२ बर्षीय टोपलाल डाँगीको मृत्यु भइ सकेको थियो ।
सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले डाँगीका बाबु – छोराको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका थिए ।
एक आफन्तका अनुसार उपचार गराउन भनेर तीन दिन अगाडि डाँगीका बाबु छोरा दाङको तुलसीपुर आएका थिए ।
बुवालाई तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गरि बिहीबार बिहान घर तर्फ फर्किने क्रममा उनीहरु सवार चल्ती बसमा करेन्ट लागेको थियो ।
राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डको कपुरकोट–३ चोरखोला नजिक सडक छेउमा गाडिएको बिद्युत पोलको सपोर्टबाट रा १ ख ८३४ नम्बरको बसमा साढे दश बजेतिर करेन्ट लागेपछि बाबु छोराको घटनास्थलमै मृत्यु भएको थियो ।
साँघुरो बाटोमा सुख्खा पहिरो खुसेको हुँदा त्यसको प्रभावले लत्रिएको सपोर्ट तारबाट बसमा करेन्ट लागेको सल्याण जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले बताए ।
बसमा ३२ यात्रु रहेपनि भाग्यले अन्य सबै यात्रु जोगिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।