२०८२ माघ ८ गते बिहिवार

राप्ती–सोनारी गाउँपालिकामा कर्मचारी सरुवाले कामकाज प्रभावित

बाँके, असार २१ । सङ्घीयता कार्यान्वयनमा आएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिकामा १४ जनाले प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी निर्वाह गरेका छन । सात वर्षको अवधिमा दोब्बर बढी प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनेजाने हुँदा दैनिक सेवा प्रवाहसँग दीर्घकालीन प्रभाव परेको अन्य कर्मचारीको भनाइ छ ।

गाउँपालिकाको तथ्याङ्क अनुसार निमित्त कार्यकारी अधिकृतको रूपमा दिलाराम राना पहिलो कार्यालय प्रमुखको रूपमा २०७३ फागुन २८ गतदेखि चैत ६ गतेसम्म करिब ८ दिन जिम्मेवारी निर्वाह गरे । त्यसयता १४ औँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा ओमप्रकाश देवकोटा २०७९ फागुन १७ देखि कार्यरत रहेका छन ।

२०७८ माघ १६ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भई आउनुभएका मणिराम खरालको सोही दिन अन्यत्र सरुवा भएको छ । स्थानीय शासनका जानकार मीनबहादुर मल्लले कर्मचारी प्रमुखको छिटो सरुवा हुँदा पालिकाको समग्र सेवा प्रवाहमा नै नकारात्मक प्रभाव पर्ने गरेको बताए ।

साबिक जिल्ला विकास समितिमा स्थानीय शासन विज्ञको रूपमा लामो समयसम्म काम गरेका मल्लले भने, ‘एउटा प्रमुख प्रशासकीय अधिकृतले ६ महिनामा केही सिकेको हुन्छ, अन्यत्र सरुवा भएपछि नयाँ आउनेलाई फेरि त्यति नै समय बुझ्न लाग्छ, यसबाट सेवा प्रवाह प्रभावित हुनेगर्छ ।’

राप्ती–सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले प्रमुख प्रशासकीय अधिकृत पठाउने अधिकार सङ्घीय सरकारलाई हुँदा समस्या हुनेगरेको बताए । प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको जानकारी गराउँदा समेत समयमै सरुवा नगरेर पालिकाको कामकाज प्रभावित भएको पौडेलको भनाइ छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *